प्रदेशको स्वायत्तता पर्याप्त छैन : मन्त्री केसी

'समृद्धिलाई आत्मसाथ गरेर वजेट'
बुधबार, साउन २, २०८१

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले संविधान अनुसार प्रदेशको स्वायत्तता पर्याप्त नभएको बताउनुभएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ रुकुमपश्चिमले जिल्ला सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकारले प्रशासनिक र बित्तिय क्षेत्रमा पूर्ण स्वायत्तता नपाएको बताउनुभयो । उहाँले केन्द्रको सत्ता समिकरणको असरले प्रदेशमा समेत समिकरण बदलिने गलत अभ्यास रहेको उल्लेख गर्नुभयो । 

संघको निर्णय प्रदेशमा लागु गर्नुपर्ने बाध्यत्मक अवस्था रहेको बताउनुहुँदै मन्त्री केसीले सरकार परिवर्तनको कारण राजनीतिक घटनाक्रम समेत बदलिने प्रचलनले जनमासमा नराम्रो सन्देश जाने गरेको बताउनुभयो । 

समृद्धिलाई आत्मसाथ गरेर वजेट

मन्त्री केसीले आर्थिक वर्ष ०८१/०८२ को वजेट कर्णालीको समृद्धिलाई आत्मसाथ गरेर ल्याईएको बताउनुभयो । उत्पादन र उत्पादकत्व बढाई कृषि निर्यात बढाएर आर्थिक समृद्धिमार्फत जीवनशैली बदल्न बजेट सफल हुने उहाँको भनाई छ । 

कर्णालीको पर्यटन, कृषि, पशुपालन, सामाजिक न्याय लगायतका सबै क्षेत्रलाई ध्यानमा राखेर बजेट बनाइएको उहाँले बताउनुभयो । कर्णालीलाई श्रम बजारका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बजेटले देशभित्रै केहि गर्न सकिन्छ भन्ने सम्भावना बोकेको समेत उहाँले दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री केसीले केन्द्रीय सत्ता समिकरण फेरबदल भएकोले प्रदेशमा समेत सरकार बदलिनेतर्फ संकेत गर्नुभयो । त्यसका लागि पार्टी र दलको निर्णयमा भरपर्ने उहाँले स्पष्ट पार्नुभयो । 

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द रोका सचिन, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष महेश केसी, समाजवादी पत्रकार संगठनका केन्द्रिय सदस्य अमर राज पुन, प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्ष देवकुमार ओली, समाजवादी पत्रकार संगठनका जिल्ला अध्यक्ष भरत कुमार चन्द लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्