अझै फेला परेनन् त्रिशूलीमा हराएका बस

बुधबार, साउन २, २०८१

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको दुईवटा बस अफै फेला परेका छैनन् । 

२८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए । 

जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरको विवरण र सम्पर्कमा आएका आफन्तले भने अनुसार एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना रहेको उल्लेख गरेको छ ।

जसमध्ये गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए । दुर्घटनापछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।

भेटिएका शवहरु तिनै बसका यात्रु भएको पुष्टि भएको अवस्थामा पनि ४५ यात्रु र दुबै बसको अवस्था भने अज्ञात छ । बस खसेको सूचना पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्धारमा खटिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्