Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा बाढीमा परेर मृत्यु भएका परिवारलाई राहतका दिने निर्णय

घाईतेलाई उपचार खर्च, मृतक र अन्य क्षती भएका परिवारलाई नगद राहत दिईने
बिहीबार, साउन ३, २०८१
tribeni2

रुकुम पश्चिममा अविरल बर्षाको कारण आएको बाढीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत (आर्थिक सहायता) दिने निर्णय भएको छ । 

जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका नजिकका कानूनी हकवालालाई आर्थिक सहायता गर्ने निर्णय गरेको हो । बुधबार प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पन्तको अध्यक्षतामा र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको बिशेष आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

गत मङगलबार बिहान बाढीमा परेर आठविसकोट नगरपालिका –१२ झिन्चौरमा तीन बालिकाको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार विपद् पीडित उद्धार तथा राहत सम्बन्धी (सातौ संशोधन) मापदण्ड, २०७७ को दफा २ (क) बमोजिम उक्त विपदको घटनामा परी मृत्यु भएका परिवारलाई राहत वितरण गरिनेछ । यस मापदण्ड अनुसार मृतकका नजिकका हकदारलाई दुई लाख रुपियाँ राहत दिने व्यवस्था रहेको छ । उक्त राहत रकम आवश्यक प्रक्रिया पुरा गरेर यथासक्य वितरण गरिने बताईएको छ । 

WhatsApp-Image-2024-07-18-at-07.38.30_a3f33f31-1721267723.jpg
जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकमा सहभागी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी लगायत । 

प्रजिअ पन्तले उक्त घटनामा परेर घाईते भएका व्यक्तिहरुलाई उपचार खर्च प्रदान गर्ने समेत निर्णय भएको बताउनुभयो । घाईते व्यक्तिहरुलाई सरकारी अस्पतालमा उपचार गर्दा लागेको खर्च र अस्पताल आउजाउका क्रममा लागेको यातायात खर्च मापदण्ड बमोजिम दिने निर्णय भएको छ । उक्त घटनामा परेर नौ जना घाईते भएका थिए । 

त्यसैगरी सोहि विपद्मा परेर घर, बहाल, आवास नष्ट भएका, खाद्यन्न बाली, जमिन, पसल व्यवसाय नोक्सानी भएका परिवारहरुको तत्कालको गुजाराका लागि नगद सहायता गर्ने निर्णय भएको छ । मापदण्ड अनुसार पाँच जनासम्म सदस्य भएमा १५ हजार र ६ वा सो भन्दा बढी सदस्य भएमा २० हजार रुपियाँ दिने व्यवस्था रहेको छ । 

असार ३१ गते देखिको अविरल वर्षाको कारण आएको बाढीले मंगलबार बिहान एउटै घरमा सुतेका आठविसकोट नगरपालिका १२ की १० वर्षिया हितमाया पुन, आठ वर्षिया धनिसा पुन र वडा नम्वर १० की चार बर्षिया मनिसा सार्कीको मृत्यु भएको थियो । सोहि घटनामा परेर वडा नम्वर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता रहनुभएको छ । बेपत्ताको खोजीलाई निरन्तरता दिने समेत निर्णय भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्