Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाढी पहिरोबाट प्रभावित परिवारलाई टेन्ट र खाद्यन्नको समस्या, सहयोगको लागि आह्वान

आठबिसकोट, मुसिकोट र बाँफिकोटका ४८ परिवार बिस्थापित, एक हजार ६६१ परिवार जोखिममा
बिहीबार, साउन ३, २०८१
tribeni2

रुकुम पश्चिममा बाढी, पहिरो तथा मनसुनजन्य विपदबाट प्रभावित घरपरिवारहरुलाई तत्कालको व्यवस्थापनमा राहत सामाग्रीको अभाव भएको छ । उनीहरुको आश्रयस्थल निर्माण तथा खाद्यन्न व्यवस्थापनमा समस्या भएपछि विभिन्न निकायमा सहयोगको लागि आह्वान गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अहिलेसम्म तीन वटा पालिकाका एक हजार ७०९ घरपरिवारको व्यवस्थापनका लागि टेन्ट लगायतका राहत सामाग्री माग गरिएको बताउनुभयो । उहाँका अनुसार प्रभावित परिवारहरुलाई तत्कालको व्यवस्थापनका लागि जिल्ला विपद् जोखिम तथा न्यूनिकरण तथा व्यवस्थापन समितिका बैठकबाटै सहयोगको आह्वान गरिएको छ । 

तीन पालिकामा मात्र एक हजार सात सय परिवार बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । ती परिवारको अस्थायी आश्रयस्थल तत्काल व्यवस्थापनका लागि टेन्ट लगायतका सामाग्रीको अभाव रहेको छ । 

प्रजिअ पन्तले आठविसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका एक हजार ७०९ घर परिवारको लागि टेन्ट लगायतका अत्यावश्यक सामाग्री माग गरिएको जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौं र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय समक्ष उक्त सामाग्रीको माग गरिएको हो । यसका साथै विभिन्न गैरसरकारी संघ, संस्था र निजी क्षेत्रलाई समेत टेन्ट तथा खाद्यन्न लगायतका सामाग्रीको लागि आह्वान गरिएको छ । 

यी तीन वटा पालिकाका ४८ घरपरिवार बाढी पहिरोका कारण बिस्थापित भएका छन् । आठबिसकोटमा एक हजार ५५७, बाँफिकोटमा ५४ र मुसीकोटमा ५० घर परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।

यस बाहेक जिल्लाको सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिका समेतमा सयौ घरपरिवार र बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्