झिन्चौरमा बाढीमा परेर मृत्यु र बेपत्ता भएका परिवारलाई सहायता खर्च र राहत वितरण 

बिहीबार, साउन ३, २०८१

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१२ झिन्चौरमा बाढीको कारण मृत्यु र बेपत्ता भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता र राहत वितरण गरिएको छ । 

गत सोमबार राती देखिको अविरल वर्षाको कारण आएको बाढीले मंगलबार बिहान एउटै घरमा सुतेका आठविसकोट नगरपालिका १२ की १० वर्षिया हितमाया पुन, आठ वर्षिया धनिसा पुन र वडा नम्वर १० की चार बर्षिया मनिसा सार्कीको मृत्यु भएको थियो । सोहि घटनामा परेर वडा नम्वर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता रहनुभएको छ । 

मृतक र बेपत्ता व्यक्तिका परिवारलाई आज आठविसकोट नगरपालिका प्रमुख रबि केसी लगायतको टोलीले आश्रयस्थलमै पुगेर सहायता रकम र राहत वितरण गरेको हो । 

नगर प्रमुख केसीले मृतक र बेपत्ता भएका व्यक्तिको आश्रयस्थलमा पुगेर २५ हजार रुपियाँको दरले सहायता खर्च र राहत सामाग्री वितरण उपलब्ध गराईएको जानकारी दिनुभयो । उहाँले विभिन्न निकायको सहयोगमा राहत उपलब्ध गराईएको जनाउनुभयो । पीडित परिवारहरुलाई थप सहयोगका लागि समेत उहाँले विभिन्न निकायलाई अनुरोध गर्नुभयो । 

उक्त विपदमा परेर घाईते भएका केहि व्यक्तिहरुको नगर अस्पतालमा उपचार भईरहेको र कतिपयको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य जटिल बन्दै गईरहेका घाईतेहरुलाई नगर अस्पतालमा ल्याएर उपचार सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्