आठविसकोटमा ७५ बस्तीका एक हजार ५६० घरपरिवार बाढी पहिरोको जोखिममा

३४ बस्तीका ६०८ घरधुरी उच्च, २९ वस्तीका ४७८ घरधुरी मध्यम र १२ बस्तीका ४७४ घरधुरी निम्न जोखिममा 
शुक्रबार, साउन ४, २०८१

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका विभिन्न बस्तीहरु बाढी पहिरोको जोखिममा रहेका छन् ।

नगरपालिकाले हालै तयार पारेको जोखिमयुक्त बस्तीको विवरण अनुसार यहाँका ३४ बस्तीका ६०८ घरधुरी बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । गत वर्षको कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण यहाँका बस्तीहरु थप जोखिममा रहेका छन् । 

नगर प्रमुख रबि केसीका अनुसार  १४ वडा मध्य वडा नम्वर १, २, ३ र ५ बाहेक अन्य वडाका ३४ बस्ती र ६०८ घरधुरी बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । त्यसैगरी २९ वस्तीका ४७८ घरधुरी मध्यम जोखिमयुक्त र १२ बस्तीका ४७४ घरधुरी निम्न जोखिममा रहेका छन् ।  भिरालो ठाउँमा रहेका यहाँका बस्तीहरु भूकम्पपछि थिलोथिलो बनेका छन् । नगरका विभिन्न स्थानको जमिन भासिएको छ भने जमिन चिराचिरा परेको छ । 

नगर प्रमुख केसीले सबैभन्दा बढी वडा नम्वर ११ का सात बस्तीका २१० घरधुरी बाढी पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । नगरपालिकाले तयार पारेको जोखिमयुक्त क्षेत्रको विवरण अनुसार वडा नम्वर ४ का चार बस्तीका १५ घर, वडा नम्वर ६ का चार बस्तीका १०२ घरधुरी, वडा नम्वर ७ का दुई बस्तीका ३७ घरधुरी र वडा नम्वर ८ का दुई बस्तीका ३३ घरधुरी उच्च जोखिममा रहेका छन् ।

त्यसैगरी वडा नम्वर ९ र १० का ६ बस्तीाका ५१ घर, वडा नम्वर १२ का दुई बस्तीका ६४ घर, वडा नम्वर १३  र १४ का सात बस्तीका ९६ घरधुरी बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । 

नगरपालिकाका अनुसार यहाँका कयौ अस्थायी आवास र विद्यालय भवनहरु समेत उच्च जोखिममा रहेका छन् । भूकम्पले जमिन फाटेका बस्तीहरु, भेरी नदि किनार तथा खोलाका किनारका बस्तीहरु र गत फागुन देखि जेठ महिनासम्म आगलागी भएका ठाउँहरु बाढी पहिरोको उच्च जोखिममा रहेको नगरपालिकाको प्रारम्भिक अनुमान रहेको छ । 

सबै वडावासीहरुलाई सतर्क तथा सुरक्षित रहन नगरपालिकाले आह्वान समेत गरेको छ । भारी वर्षा भईरहेकोले यस्तो बेला सुरक्षित स्थानमा बस्न, नदि तथा खोलानालामा घाँस दाउरा जाँदा थप सजकता अपनाउन, जोखिमयुक्त क्षेत्रमा हिडडुल तथा नजिक नबस्न नगरपालिकाले अनुरोध गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्