सानीभेरी गाउँपालिकाका ९९ शिक्षकले ६ महिनादेखि तलब पाएनन् 

४४ जना जनप्रतिनिधिलाई १२ लाख अपुग
सोमबार, साउन ७, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका करार शिक्षकहरुले पछिल्लो ६ महिनादेखि तलब पाएका छैनन् । गाउँपालिकाको अनुदान कोटामा करार सेवामा भर्ना भएका ९९ जना शिक्षकहरुले गत वर्षको माघ महिनादेखि असार महिनासम्मको तलब पाउन नसकेका हुन् । 

गाउँपालिका अनुदान कोटा अन्तर्गत करार सेवामा भर्ना भएका ९९ जना शिक्षकहरुले गत माघ महिनादेखि नै तलब पाएका छैनन् । तलब नपाउँदा उनीहरु मर्कामा परेको बताईन्छ । उनीहरुले श्रमको मूल्य नै नपाएपछि ‘जागिर छोड्ने कि खाने’ भन्ने अप्ठ्यारो अवस्थामा पुगेका जनाएका छन् । 

गाउँपालिकाले शिक्षकहरुले ६ महिनादेखि तलब पाउन नसकेको स्वीकार गरेको छ । बजेट अभावका कारण शिक्षकहरुलाई समयमै तलब दिन नसकिएको गाउँपालिकाको भनाई छ । 

प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीका अनुसार करारमा भर्ना भएका शिक्षकहरुका लागि एक करोड ६० लाख रुपियाँ अपुग रहेको छ । ६ महिनाको तलब खुवाउन श्रोत जुटेको र बाँकि बजेट अभावका कारण तलब खुवाउन नसकिएको उहाँको भनाई छ । अधिकृत बुढाथोकीका अनुसार भुक्तानी गर्न बाँकि रकम दायित्वमा राखिएको छ भने भदौ महिनामा भुक्तानी गरिनेछ ।    

गाउँपालिकाले करारमा ९० जना कर्मचारी र ९९ जना शिक्षक भर्ना गरेको छ । कर्मचारीहरुको लागि तीन करोड ३४ लाख ८२ हजार ७८३ रुपियाँ खर्च हुने गरेको छ भने शिक्षकहरुको लागि मात्र तीन करोड ४२ लाख ७९ हजार रुपियाँ आवश्यक पर्दछ । 

गाउँपालिकाले दिएको जानकारी अनुसार ९९ जना करार शिक्षकहरु मध्य २३ जना आधारभूत तह (कक्षा १–५) र ३७ जना (कक्षा ६–८) तहको रहेका छन् । त्यसैगरी  माध्यमिक तह (कक्षा ९ १०) मा १५ जना, कक्षा ११ र १२ को लागि दुई जना, प्राविधिक धारतर्फ चार जना र प्रारम्भिक बाल विकास केन्द्रमा १७ जना शिक्षक रहेका छन् । गाउँपालिकाले विद्यालयमा कार्यालय सहयोगीस्तरका २१ जना कर्मचारी करारमा भर्ना गरेको छ भने उनीहरुले पनि छ महिनादेखि तलब पाएका छैनन् । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले गाउँपालिकाको आन्तरिक श्रोतले मात्र शिक्षकहरुको व्यवस्थापनमा कठिनाई भईरहेको बताउनुभयो । उहाँले करारमा शिक्षक नराख्ने हो भने विद्यालय नचल्ने अवस्था रहेको समेत बताउनुभयो । पर्याप्त दरबन्दी नहुँदा गाउँपालिकाले करारमा शिक्षक भर्ना गर्नुपर्ने बाध्यता रहेको उहाँले जनाउनुभयो । 

जनप्रतिनिधिहरुलाई १२ लाख अपुग

शिक्षक मात्र हैन, यहाँका जनप्रतिनिधीहरुले पनि छ महिनादेखि सेवा सुविधा पाउन सकिरहेका छैनन् । जनप्रतिनिधिहरुले नियमानुसार पाउनुपर्ने १२ लाख रुपियाँ भुक्तानी गर्न बाँकि रहेको छ ।

११ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडाका चार जना सदस्य अर्थात गाउँसभाका ४४ जना सदस्यहरुलाई सेवा सुविधा दिन बाँकि रहेको गाउँपालिकाले जनाएको छ । उहाँहरुको सेवा सुविधा पनि यस आर्थिक वर्षको दायित्वमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्