गरिब तथा जेहेन्दार बिद्यार्थीलाई मेयरको कार्यकक्षमा स्वागत र सहयोग

सोमबार, साउन ७, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई आफ्नो कार्यकक्षमै बोलाएर स्वागत तथा सहयोग गर्नुभएको छ । 

नगर प्रमुख केसीले सोमबार आफ्नो कार्यकक्षमा बोलाएर मुसिकोट नगरपालिका वडा नम्वर ५ निवासी मोहनलाल केसीको छोरी प्रमिसा केसीलाई स्वागतसँगै विद्यालय पोशाक र शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । 

प्रमिसा मुसिकोट नगरपालिका ५ मा रहेको यमुनानद नमूना माविमा कक्षा ७ मा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी हुन् । विद्यालयका सहायक प्रधानाध्याक गणेश केसीका अनुसार विद्यालयमा गत महिना स्काउट दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनुभएका नगर प्रमुख केसीले प्रमिसालाई च्यातिएको कपडा र चप्पल समेत गतिलो नभएको अवस्थामा देख्नुभएको थियो । 

प्रमिसाको पारिवारीक र अध्ययनको अवस्था विद्यालयमा जानकारी लिएपछि उहाँले आज कार्यकक्षमै बोलाएर स्वागत गर्नुका साथै शैक्षिक सामाग्री लगायतको सहयोग गर्नुभएको हो । उहाँले विद्यालय पोशाक, जुत्ता, मोजा लगायतका शैक्षिक सामाग्री छात्रा प्रमिसालाई हस्तान्तरण गर्नुभएको सहायक प्रधानाध्यपक केसीले जानकारी दिनुभयो ।  

आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाको पहुँचबाट कोहि पनि बञ्चित हुनुनपर्ने बताउनुहुँदै नगर प्रमुख केसीले आगामी दिनहरुमा पनि अप्ठ्यारो अवस्थामा रहेका बालबालिकालाई सहयोग गरिने बताउनुभयो । उहाँले व्यक्तिगत तथा संस्थागत रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो । प्रमिसालाई गरेको सहयोग भने नगर प्रमुखले व्यक्तिगत खर्चबाट गर्नुभएको हो । 

यसका साथै अप्ठ्यारो अवस्थामा रहेका जो सुकै नगरवासीको लागि नगर प्रमुख समक्ष आएर जानकारी दिन समेत उहाँले आह्वान गर्नुभयो । गरिब, जेहेन्दार, प्रतिभाशाली बालबालिकाहरुको साथमा नगर सरकार रहेको सन्देश दिनलाई पनि कार्यकक्षमा विद्यार्थीलाई बोलाएर स्वागत तथा सहयोग गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।  

सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख केसी, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष दिनेश खड्का, यमुनानन्द नमूना माविका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी गणेश केसी, शिक्षक गोपाल केसी, छात्राका बुवा मोहनलाल केसी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्