रुकुम प्रहरीको अर्को सफलता : ट्रकमा लिदै गरेको पाँच किलो ५४५ ग्राम अफिमसहित चालक पक्राउ

सोमबार, साउन ७, २०८१

रुकुम पश्चिम प्रहरीले ठुलो परिमाणमा लागुऔषध अफिम बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गत शनिबार राती ९ बजे आठविसकोट नगरपालिका १४ छेपारेबाट पाँच किलो ५४५ ग्राम अफिम बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार आठविसकोटको गोतमकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ क १७८० नम्वरको ट्रकबाट उक्त अफिम बरामद गरिएको हो । 

उहाँले अफिमसँगै ट्रक चालक सल्यानको कुमाख गाउँपालिका ५ निवासी ३२ वर्षिय मदन प्रकाश गिरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । गस्तीमा रहेको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा ट्रकको सहचालक बस्ने सिटमुनी लागु औषध अफिम फेला पारेको हो । 

सिट मुनि पहेलो रंगको चामलको बोरामा तीन वटा सेतो प्लाष्टिक भित्र अर्को कालो प्लाष्टिकलाई सेतो टेपले बेरेको अवस्थामा कालो खैरो रंगको गिलो लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । 

अफिमसँगै एक थाल डिजिटल तराजु, तीन हजार नगद रुपियाँ, दुई थान मोबाईल र ट्रक समेत बरामद गरिएको डिएसपी पोखरेलले जनाउनुभयो । 
प्रतिवादी गिरीलाई रुकुम जिल्ला अदालतबाट १० दिनको मयाद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

यस कार्यलाई प्रहरीले महत्वपूर्ण सफलताको रुपमा लिएको छ । यस अघि प्रहरीले फरार प्रतिवादी पक्राउ, सचेनामूलक कार्यक्रम, अवैध भरुवा बरामद लगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्