सोसल मिडिया
रुकुम पश्चिम । मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्डको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । जिल्लाको चौरजहारी देखि मुसिकोट नगरपालिकाको साँखधुरीसम्मको सडकखण्ड डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका निमित्त योजना प्रमुख अमित कुमार मण्डलका अनुसार रुकुमपश्चिममा रहेको ६७ किलोमिटर मध्य ६१ किलोमिटर सडकखण्ड डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको हो । साउन १ गतेदेखि लागु हुनेगरी सडक हस्तान्तरण गरिएको उहाँले जानकरी दिनुभयो ।
उहाँका अनुसार साँखधुरी देखि रुकुमपूर्वको सिमाना खोपीचारसम्मको छ किलोमिटर सडकखण्डमा ठेक्का लागेर काम भईरहेको छ । त्यहाँको किटनी क्षेत्रमा पहिरोको ठुलो जोखिम रहेको छ । जमिनको भाग भासिनुका साथै माथिल्लो भागमा पहिरोको जोखिम रहेको छ ।
सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख तेजस्वी शर्माले मध्यपहाडि राजमार्गको ६१ किलोमिटर सडकखण्ड डिभिजन कार्यालयमा हस्तान्तरण भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार रुकुमपश्चिममा निर्माण सम्पन्न भएको सडकको तीन खण्ड भाग हस्तान्तरण भएको हो ।
साँखधुरीदेखि सितलपोखरी, सेरीगाउँ देखि हाँसिबाङ र हाँसिबाङ देखि चौरजहारीसम्मको भाग डिभिजन कार्यालयलाई हस्तान्तरण भएको हो ।
डिभिजन प्रमुख शर्माका अनुसार अबदेखि यस खण्डमा सडक मर्मत र सानातिना निर्माणका काम डिभिजन कार्यालयले गर्नेछ । तर, ठुलो पहिरो लगायतका समस्या समाधानको जिम्मा भने मध्यपहाडिकै हुने शर्माको भनाई छ । सडक मर्मत सम्भारको काम भने डिभिजन कार्यालय सुरु गरिसकेको छ ।
वर्षायाम सुरु भएसँगै यस क्षेत्रका विभिन्न स्थानमा आउने पहिरोले आवतजावतमा समस्या हुने गरेको छ । मध्यपहाडी राजमार्गको कार्यालय दैलेखमा रहेकोले तत्काल मर्मत तथा जनशक्ति परिचालनको काममा ढिलाई हुने गरेको थियो । सडक डिभिजन कार्यालय चौरजहारीमै रहेकोले अब भने उक्त समस्या समाधान हुने विश्वास स्थानीयको रहेको छ ।