युवा मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा परिचन्द्र खत्री चयन

बिहीबार, साउन १०, २०८१

रुकुम पश्चिममा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ।

बिहिबार जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा भएको युवाहरूको भेलाले खत्रीको अध्यक्षतामा २५ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको हो।

सञ्जालको उपाध्यक्षमा प्रमिला कठायत र रमेश मल्ल, सचिवमा सोमपाल कामी, सहसचिवमा कपिल बिष्ट र रोशन परियार र कोषाध्यक्षमा सरस्वती बिक चयन हुनुभएको छ।

युवा सशक्तिकरण, मानव अधिकार र सुशासनको क्षेत्रमा काम गर्ने गरी उक्त सञ्जाल गठन गरिएको हो। रोयम नेपालको सहजीकरणमा गठन गरिएको यस सञ्जालले युवाहरूको सहभागितामा मानव अधिकार संरक्षण र प्रवर्धनका लागि काम गर्ने बताइएको छ।

मानव अधिकार सञ्जाल रुकुम पश्चिमका जिल्ला संयोजक नरबहादुर लम्सालको अध्यक्षतामा भएको जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, गैरसरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष भीमराज ओली लगायतको आतिथ्यता रहेको रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिनुभयो।

यसैबीच युवाहरूलाई मानवअधिकार, सुशासन, बालविवाह, लागुऔषध दुवर्यसनका असर, सकारात्मक सोच लगायतका विषयमा सहजीकरण समेत गरिएको प्रदेश संयोजक विकले बताउनुभयो।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्