पहिरोको उच्च जोखिममा छिङको दलित बस्ती, २२ परिवार बिस्थापित

गाउँमुनिको पहिरोमा बस्ती नै मिसिने डर
शुक्रबार, साउन ११, २०८१

लगातारको बर्षाको कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ छिङको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बर्षाको कारण गाउँमुनिबाट आएको ठुलो पहिरोले बस्ती नै जोखिममा परेको हो । 

वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दका अनुसार सिंगो गाउँ नै जोखिममा रहेको छ भने २२ घर उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका घरपरिवारहरु छिमेकी टोलमा रहेका आफन्तहरुको घरमा बसेको समेत वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

बिस्थापित परिवारहरुलाई स्थानीय विद्यालयमा सार्न पहल गरिएको तर उहाँहरुले आफन्तकोमा बस्न सहज हुने बताएकोले सबै परिवार बाँडिएर आफन्तकोमा बसेको उहाँले जनाउनुभयो । 

स्थानीय बिमला नेपालीले गाउँमुनिकोे पहिरोमा बस्ती मिसिने उच्च जोखिम बढेको जनाउनुभयो । अहिले जोखिममा घर भएका सबैले छोडेर आफन्तकोमा बस्न थालेको उहाँले बताउनुभयो । 

घरमा भएका सबै सामानहरु सुरक्षित स्थानमा सारिएको छ । पानी नपरेको बेला र दिउँसोमा घरमा गएर खाना पकाएर खाने र साँझ पख छिमेकी टोलका आफन्तहरुको घरमा सुत्न जाने गरेको नेपालीले बताउँनुभयो । 

पहिरोको दीर्घकालिन रोकथाम र तत्काल बिस्थापित परिवारहरुको लागि राहत सामाग्रीको आवश्यकता रहेको बताईन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्