पहिरोेले रानीकोटको सडक भिरमा परिणत, यातायात र विद्युत सेवा अवरुद्ध

शुक्रबार, साउन ११, २०८१

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रानीकोटमा आएको पहिरोले मध्यपहाडि राजमार्ग अन्तर्गतको रुकुम पुर्व र रुकुम पश्चिम खण्ड अवरुद्ध भएको छ ।

बुधबार बेलुका आएको पहिरोले सडकको भूभाग नै भासिएपछि सडक अवरुद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले ठुलो पहिरोको कारण मध्यपहाडि राजमार्ग भएर चल्ने यातायातका साधानहरु रोकिएका छन् ।

उहाँका अनुसार सडक नै पहिरोले लिएकोले कहिलेसम्म निर्माण हुन्छ भनेर अनुमान नै गर्न नमिल्ने अवस्था रहेको छ । यद्यपी सडक निर्माणको काम भने भईरहेको छ । 

पहिरोले सडकसँगै विद्युतका पोलर र तार समेत क्षती गरेको छ । जिल्ला सदरमुकाम समेतमा विद्युतको केन्द्रिय लाईन अवरुद्ध रहेको छ । विद्युत अवरुद्ध हुँदा यहाँका सर्वसाधारण र कार्यालयका नियमित कामकाज प्रभावित बनेका छन् । 

सिस्ने गाउँपालिका ६ का पियुस केसीले रानीकोटको पहिरोको कारण यातायात अवरुद्ध हुँदा सर्वसाधारणहरुलाई आउजाउमा समस्या भईरहेको बताउनुभयो । उहाँले पहिरोको माथिल्लो भागमा करिब एक घण्टा उकालो हिडेर खोपिचारसम्म यात्रुहरु आउने गरेको जानकारी दिनुभयो । सामान बोकेका, बालबालिका र जेष्ठ नागरिकहरु भिरालो भागको पहिरो माथि हिड्न बाध्य भएको उहाँको भनाई छ । 

सडक अवरुद्ध भएसँगै  रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा  रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन अवरुद्ध भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्