जन्मदिन मनाउने खर्च टुहुरा दाजुभाईलाई हस्तान्तरण

शनिबार, साउन १२, २०८१

रुकुम पश्चिम । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कोषाध्यक्ष यज्ञ खत्रीले आफ्नो जन्मदिनको अवसरमा टुहुरा बालकलाई आर्थिक सहयोग गर्नुभएको छ । 

उहाँले मुसिकोट नगरपालिका -२ निवासी दाजुभाई १६ वर्षिय रामबहादुर खड्का र १३ वर्षिय मनोज खड्कालाई आर्थिक सहयोग गर्नुभएको हो । 

जिल्लाको मुसिकोट नगरपालिका -१४ निवासी खत्री युवा व्यवसायी समेत हुनुहुन्छ । जन्मदिन मनाउने खर्चबाट दुई टुहुरा बालकहरुलाई नगद पाँच हजार रुपियाँ सहयोग गरेको उहाँले बताउनुभयो । 

आमाको अन्यत्रै बिहे भएको र बुवाको समेत निधन भैसकेको हुँदा दुई दाजुभाईको अवस्था दयनिय रहेको छ । जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर टुहुरा बालकहरुको दैनिकी सञ्चालनमा सहज बनाउन आफूले सहयोग गरेको खत्रीेले बताउनुभयो । 

जिल्ला सदरमुकाममा आफन्तको आश्रयमा रहेका यी दुई दाजुभाईले कमजोर पारिवारीक अवस्थाकै कारण पढ्न पाएका छैनन् । उनीहरुलाई लालनपालन र शिक्षा दिक्षाको समेत अभाव रहेको छ ।

पढ्ने उमेरमा उनीहरुले मजदुरी गरेर दैनिकी चलाउन बाध्य भएको बताएका छन् । सीपमूलक काम सिक्न पाए खुशी हुने टुहरार दाजुभाईको भनाई रहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्