सोसल मिडिया
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको गैरसरकारी संस्था नाईस नेपालगञ्जले नाईस अवार्ड, २०२४ का लागि आवेदन खुला गरेको छ ।
सामाजिक रुपमा प्रेरणादायी र अनुकरणिय काम गरिरहेका व्यक्तिहरुलाई व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण यहि साउन २० गते नेपालगन्जमा हुने भएको छ ।
बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि अवार्डका लागि दरखास्त दिन सक्ने गरि आवेदन खुल्ला गरेको संस्थाका अध्यक्ष हेमराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवार्डका लागि आवेदक स्वयमले आवेदन गर्न सक्ने वा अरु कसैले पनि उपयुक्त ब्यक्तिको नाम सिफारिस गर्न सकिने व्यवस्था गरिएको छ । अवार्डका लागि केही मापदण्ड राखिएको छ । जस अन्तरगत अवार्डका लागि दरखास्त गर्ने ब्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक क्षेत्रमा कार्यक्षेत्र बाँके जिल्लामा रहेर काम गरेको हुनुपर्ने, कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुपर्ने र व्यक्ति अवार्डका लागि दावेदार हुन भनी आवेदक⁄मनोनयनकर्ताले स्पष्ट कारण आवेदन फाराममा खुलाउनुपर्ने छ ।
यसरी सम्पूर्ण प्रक्रिया पुरा गरेर आवेदन संस्थाको आधिकारीक ईमेलमा पठाउन सकिने वा संस्थाको कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा आएर समेत दर्ता गर्न सकिने ब्यवस्था गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
हरेक बर्ष अवार्ड प्रदान कार्यक्रमलाई थप ब्यवस्थित बनाउदै लगेको नाईस नेपालगन्जले आगामी दिनमा प्राप्त सुझावहरुको आधारमा परिमार्जन र फराकीलो गर्दै लैजाने योजना रहेको जनाएको छ ।
यसअघि उक्त अवार्ड लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्री, गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकी, बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो ।