ठेकेदारले डिग्रे मन्दिर संरक्षण कार्यमा भ्रष्टाचार गरेको आरोप

छत चुहिएपछि मूर्ति र पूजाका सामान जोगाउनै हैरान 
सोमबार, साउन १४, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ थर्पुमा रहेको प्रशिद्ध डिग्रे शाईकुमारी भगवती मन्दिरको छत चुहिना थालेको छ । छत पुनर्निर्माण गरेको महिना दिनमै पानी चुहिना थालेको हो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार छतबाट पानी चुहिँदा मन्दिर भित्रका मूर्ति र अन्य पूजाका सामाग्री जोगाउन मुश्किल भईरहेको छ । 

उहाँले हालै भएको मन्दिर मर्मत योजनामा लापरबाहिका साथै अनियमितता भएकोले चुहिन थालेको बताउनुभयो । मन्दिरमा यस अघि रहेको छाना निकालेर निर्माण व्यवसायीले कमसल तथा गुणस्तरहिन सामान प्रयोग गरेकोले मन्दिर चुहिन थालेको उहाँको भनाई छ । 

जानकारी अनुसार आर्थिक वर्ष ०८०/०८१ मा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागबाट डिग्रे शाईकुमारी मन्दिर संरक्षणका लागि योजना सञ्चालन भएको थियो । उक्त योजना निर्माणका लागि रोल्पाको बिनोद कन्ट्रक्सन सेवाले ठेक्का पाएको थियो । उक्त कम्पनीले १५ लाख ७० हजार ९९ रुपियाँमा ठेक्का पारेर २०८० फागुन १ गते सम्झौता गरेको थियो । 

उक्त कम्पनिले मन्दिरको छत मर्मतमा गुणस्तरहिन काम गरेर अनियमितता गरेको आरोप समितिको रहेको छ । समितिका अध्यक्ष केसीका अनुसार मन्दिरमा त्यसअघि रहेको छानाको पितल निकालेर इस्टमेट अनुसार काम नगरेकोले छाना चुहिन थालेको हो । ठेकेदारले गुणस्तर पुरा नगरी हचुवाको भरमा छाना छुवाएको उहाँको आरोप छ । 

पहिला राखिएको छतको पितलका सामाग्री निकालेर आधाआधि पितल फेरि पुरानै प्रयोग गरेको, जिर्ण पितलको प्रयोग गरेको उहाँले बताउनुभयो । 
त्यसयता बर्षा सुरुभएपछि मन्दिर चुहिन थालेको, ठेकेदारलाई जानकारी गराउँदा बनाउछु बनाउँछु भन्दै भागेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । अहिले प्लाष्टिक लगायर मन्दिरका मूर्ति र अन्य सामाग्रीहरु जोगाउन बाध्य भएको उहाँले जनाउनुभयो । 

उहाँले मन्दिर जस्तो पवित्रस्थलमा ठेकेदारले भ्रष्टाचार गरेको आरोप लगाउँदै छानबिनका लागि माग समेत गर्नुभएको छ । 

यसका साथै ठेकेदारले बजारबाट लिएको केहि सामाग्रीहरु तथा ढुवानीको पैसा भुक्तानी नगरेको, खाना पकाउने र खुवाउने कार्यमा लागेका मजदुरहरुको ज्याला नदिएको समेत गुनासो रहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्