Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघि देखिका श्रेष्ता जोखिममा

मंगलबार, साउन १५, २०८१
tribeni2

रुकुम पश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघिका जग्गाका श्रेष्ताहरु जोखिममा रहेका छन् । पुराना र जिर्ण बन्दै गएका कारण यी श्रेष्ताहरु जोगाउन मुश्किल भईरहेको मालपोत कार्यालयले जनाएको छ । 

मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण श्रेष्ताहरु जोगाउन समस्या भईरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी श्रेष्ताहरु राखिएको छ । उहाँका अनुसार वि.सं. १९८९ सालमा भएको नापी देखि हालसम्मका विभिन्न मितिमा भएका नापीका जग्गाहरुको श्रेष्ताहरु सुरक्षित गर्न आवश्यक रहेको छ ।

वि.सं. १९८९, १९९०, १९९६, १९९८, २०१५, २०१६, २०३२ र २०३६ सालमा नापी भएका जग्गाका कागजातहरु झुत्रा बन्दै गएका छन् । विभिन्न मुद्धा तथा आवश्यकताको बेला यिनै श्रेष्ताहरु बलियो प्रमाणका रुपमा लिईन्छ ।

जग्गा दर्ता, मुद्धा मामिला, अदालती प्रयोजन, साबिक लागत लगायतका प्रयोजनमा आवश्यक यी श्रेष्ता, मोठ तथा ढड्डाहरु सुरक्षित गर्न मालपोत विभाग, स्थानीय तथा प्रदेश सरकार लगायतले आवश्यक बजेट व्यवस्थापन गर्न आवश्यक रहेको मालपोतको माग रहेको छ । 

वि.सं. १९८९, १९९०, १९९६ र १९९८ सालमा नापी, २०१५ र २०१६ सालमा खेतको लगत, २०३२ सालमा मिजमाना नम्बरी र २०३६ सालमा पाखातर्फको जग्गाको नापी गरिएको थियो । यी सबै अभिलेखहरु हालसम्म जसोतसो राखिएको तर जिर्ण बन्दै जाँदा मेटाउने जोखिम बढेको मालपोतको भनाई रहेको छ । नापी भएका सालमा कायम गरिएका वनहरुको चौहड्डी श्रेष्ताहरु समेत मालपोतमा रहेका छन् । 

मालपोत प्रमुख खत्रीले हेर्दाखेरी साना तर महत्वपूर्ण कागजातहरु सुरक्षित गर्न अत्यावश्यक रहेको बताउनुभयो । उहाँले आवश्यक बजेट व्यवस्थापन गरेर ब्यान्डिङ्ग वा डिजिटल रुपमा सुरक्षित गर्न नसकिएमा श्रेष्ताहरु खेर जाने उल्लेख गर्नुभयो ।

यसका साथै भूमि सुधारका ७ र २ नम्वर फाराम समेत जिर्ण बन्दै गएका छन् । ७ नम्वर फाराममा हदबन्दी विवरण र २ नम्वरमा जग्गाको हकभोग सम्बन्धि विवरण हुने गर्दछ । जग्गाका श्रेष्ता र यी फारामहरु सुरक्षित गर्न आवश्यक रहेको मालपोतको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्