सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरु बिचमा समन्वय बैठक गरिएको छ । एकिकृत पूनर्लाभ कार्ययोजना अन्तर्गत सानीभेरीमा कार्यरत गैससहरु बिचमा समन्वयात्मक बैठक गरिएको हो ।
बैठकमा भूकम्प पश्चात प्रतिकार्य, पूनर्लाभका क्षेत्रमा भएका प्रगति बारेमा समिक्षा तथा आगामी कार्ययोजनाका बारेमा गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजना सञ्चालनका क्रममा आईपरेका समस्या, चुनौती र सिकाइका बारेमा छलफल गर्ने, एकिकृत पूनर्लाभ कार्ययोजनासँग सम्पूर्ण एजेन्सीहरुसँगको समन्वय तथा सहकार्यमा एकरुपता ल्याउने र परियोजनाको थप प्रभावकारिताको बिषयमा छलफल गर्ने उद्धेश्यका साथ बैठक आयोजना गरिएको हाे ।
यस पालिकामा अन्तर्राष्ट्रिय विकासका लागि बेलायती नियाेकको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघको आवासिय संयोजक कार्यालय यूएनआरसीओ को समन्वयमा सयुक्त राष्ट्र संघका चार एजेन्सीहरु (UNICEF, UN-WFP, IOM,UNFPA) को साझेदार संस्थाहरुले खानेपानी, सरसफाई तथा स्वच्छता, खाद्य सुरक्षा र पोषण, आवास, संरक्षण लगायतका क्षेत्रमा काम गरिरहेका छन् । उक्त अवसरमा यी निकायहरुले क्षेत्रगत प्रस्तुतीहरु समेत राखेका थिए ।
गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कमला रोका पुन, सामाजिक विकास समितिका संयोजक शेरबहादुर खड्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र ओली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्साल लगायतको आतिथ्यता रहेको थियो । त्यसैगरी बैठकमा एकिकृत पूनर्लाभ कार्ययोजना अन्गर्तत संयुक्त राष्ट्र संघका चार एजेन्सीहरु र साझेदार सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सानीभेरी गाउँपालिकाका सूचना अधिकारी मानविर ओलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले कार्यक्रमको उद्धेश्य बारेमा प्रकाश पार्नुभएको थियो । सानेभरी गाउँपालिकाको आयोजनामा भएको उक्त बैठकको समन्वय रुकुमेली समाज विकास केन्द्रले गरेको थियो ।