चुनाखोलाले बगाएका पुरुषको शव बाउनचौरमा फेला 

शनिबार, साउन १९, २०८१

रुकुम पश्चिममा खोलाले बगाएका एक पुरुषको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षिय तेजबहादुर बुढाको शव फेला परेको हो । 

आज शनिबार दिउँसो घरबाट गोठ जाने क्रममा झुल्खेतस्थित चुनाखोला तर्ने क्रममा बुढालाई खोलाले बगाउँएको थियो । त्यसलगत्तै प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट बुढाको खोजीको लागि प्रहरी परिचालन भएको थियो । 

सोलाबाङतर्फ प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलको नेतृत्वमा र झुल्खेततर्फ प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरी टोलीले खोजी कार्यका लागि परिचालन भएको थियो । 

डिएसपी पोखरेल नेतृत्वको टोलीले मुसिकोट नगरपालिका १३ को बाउनचौरस्थित खोलामा बग्दै गरेको अवस्थामा शव फेला पारेको हो । 

डिएसपी पोखरेलका अनुसार खोला किनारमा खोज्दै जाने क्रममा खोला बिचमा बग्दै गरेको अवस्थामा शव देखिएको थियो । प्रहरी हवल्दार हरजित सिंह ठगुन्ना लगायतको टोली तत्कालै खोलामा गएर उक्त शव बग्नबाट जोगाएको थियो । 

अहिले उक्त शव खोला बाहिर निकालेर मुचुल्का लगायका कार्य सुरु गरिएको छ । आफन्तलाई समेत खबर गरिसकिएको उहाँले जानकारी दिनुभयो । त्यसपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईने छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्