भालुखाप्चेमा व्यक्तिगत लगानी, सरकार मूकदर्शक !

पहराको बाटो खोल्न कस्सिय स्थानीय
मंगलबार, साउन २२, २०८१

रुकुम पूर्व । साउन १० गते रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –१४ मा पर्ने भालुखाप्चे भिरमा गएको पहिरोले यहाँको एकमात्र पदमार्ग बगायो । पदमार्ग बगाएपछि  सिस्ने गाउँपालिका १ र २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका ७, ८, ९ र १४ का स्थानीय डोरी र घाँसको सहारामा आउजाउ गर्न बाध्य भए । 

यहि भिरबाट जोखिमपूर्ण र बाध्यतापूर्ण आवातजावत भईरहेको दृश्यहरु  सामाजिक सञ्जाल र मिडियाहरुमा छरपस्ट भईरहेका छन् । न त कहिकतैबाट निर्माण कार्य सुरु भयो, न त ज्यान बाजि लाएर गरिने भिरको यात्रा रोकियो । 

सरोकारवाला निकाय मूकदर्शक भएको भन्दै चारैतिर गुनासो बढिरहेको बेला सिस्ने गाउँपालिका २, प्वाङका निर्माण व्यवसायी तथा समाजसेवी नरहरि खड्काले व्यक्तिगत खर्चमा यो बाटो निर्माणका लागि पहल गर्नुभएको छ । हिमशिखर इन्टरप्राईजेजका प्रोपराईटर समेत रहनुभएका खड्काले करिब दुई लाख रुपियाँमा तत्कालको लागि पदमार्ग खोल्न सकिने भएकोले आफ्नो लगानीमा स्थानीहरुको साथमा बाटो बनाउन लागेको जानकारी दिनुभयो । स्थानीय युवाहरुको सक्रियता र तदारुकताका कारण स्थानीय बासिन्दाहरुको आवतजावतलाई सहज बनाउन प्रयास गरेको खड्काले बताउनुभयो । 

बाटो बनाउने कार्यमा वडा नम्वर २ का स्थानीयवासीहरु समेत स्वतस्फूर्त रुपमा कस्सिएका छन् । माथि भिरबाट निरन्तर खस्ने पहिरो, तल सानीभेरी नदि, निरन्तरको वर्षाको कारण भने जसरी स्थानीयले काम गर्न भने पाईरहेका छैनन् । 

WhatsApp-Image-2024-08-06-at-10.51.18_d99d33ac-1722925505.jpgवडा नम्वर २ का वडा अध्यक्ष कृष्णबहादुर खड्काले पदमार्ग खुलाउन दैनिक २५ देखि ३० जना स्थानीयले काम गरिरहेको बताउनुभयो । उहाँले बर्षाका कारण नियमित काम गर्न असहज भईरहेको जानकारी दिनुभयो ।

नियमित काम भएमा साता दिनमा उक्त पैदलमार्ग स्थानीयले तयार गर्ने उहाँको भनाई छ । निर्माणपछि बाटोमा हिड्ड्ल गर्न सहज भएपनि माथिबाट खस्ने ढुंगाका कारण जोखिम भने यथावत नै रहने वडा अध्यक्ष खड्काले बताउनुभयो । 

तत्कालै र सानो बजेटले उक्त पदमार्ग नियमित गर्ने सम्भावना नरहेको बेला स्थानीय समेत रहनुभएका समाजसेवी खड्काले व्यक्तिगत लगानीमा बाटो निर्माणको लागि पहल गर्नु अत्यन्तै प्रशंसनिय रहेको उहाँको भनाई छ ।  

भालुखाप्चे भिरको उक्त पैदलमार्ग सिस्ने गाउँपालिका १ र २ का साथै पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्वर ७, ८, ९, १२ र १४ का स्थानीयको आवतजावत गर्ने एक मात्र पैदाल मार्ग हो । सडक सञ्जाल नपुगेका यहाँका सिस्ने, प्वाङ, नायगाड, किदा, तिपतरा, चारगाउँ, जाङ, खारावाङ, नाखा, राङसी लगायतका गाउँहरुलाई जिल्ला सदरमुकाम  र गाउँपालिका केन्द्र रुकुमकोट जोड्ने यो एक मात्र बाटो हो । 

यो पदमार्गमा तल सानीभेरी नदी र माथि पहराको भिर छ । भिरमै निकालिएको पदमार्ग पहिरोले बगाएपछि स्थानीयले भिरमा डोरी बाँधेर यात्रा गर्न बाध्य भएका छन् । 

WhatsApp-Image-2024-08-06-at-11.00.32_3c12f2f6-1722925509.jpgसिस्ने गाउँपालिका वडा नम्वर –२ का पूर्व वडा अध्यक्ष जीवन केसीले बैकल्पिक बाटो नभएपछि कठिन भूगोल र मौसमका बाजवुद जोखिम मोलेर स्थानीयले काम गरिरहेको बताउनुभयो । सरकारी निकायले ठोस पहल गर्न नसकिरहेको बेला व्यवसायीले र स्थानीयवासीले स्वतस्फूर्त रुपमा बाटो बनाउन लागेको समेत उहाँले जनाउनुभयो । 

पहरामा करिब पाँच सय मिटर बाटो तयार गरियो भने उक्त पदमार्ग नियमित हुनेछ । अहिले रुकमुकोटमा बसोबास गर्ने प्वाङवासी युवाहरु बाटो बनाउने कार्यमा तल्लिन रहेका छन् । 

पदमार्ग निर्माणका लागि तत्कालको खर्च व्यवस्थापन तथा अगुवाई गर्ने व्यवसायी खड्का गत प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्रबाट उमेदवार समेत रहनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्