Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका युवा सार्वजनिक

आइतबार, साउन २७, २०८१
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -४ लामाचौरमा एक महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

स्थानीय ४९ वर्षिय शुसिला मल्लको हत्या आरोपमा चौरजहारी नगरपालिका -११ निवासी २३ वर्षिय प्रेम मल्ललाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । 

शुसिलाको गत साउन २२ गते राती उहाँकै घरमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलन गरेर हत्या आरोपी मल्ललाई सार्वजनिक गरेको छ । 

प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार उनीहरुको बिचको अवैध सम्बन्धको कारण हत्या गरिएको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । 

डिएसपी पोखरेलका अनुसार मृतक र हत्या आरोपी बिच डेढ वर्ष पहिला जाजरकोटको रिम्ना मेलामा चिनजान भएको थियो । फोन नम्वर साटासाटबाट सुरु भएको उहाँहरुको सम्बन्ध झाँगिएपछि २१ गते राती प्रेम मृतकको घरमा बास बस्न गएका थिए । पत्रकार सम्मेलनमा डिएसपी पोखरेलले भोलिपल्ट २२ गते पनि दिउँसो रिम्ना, चाईनबगर घुम्न गई साँझ शुसिलाकै घरमा बस्न आएका आएको खुल्न आएको जानकारी दिनुभयो । 

मृतक शुसिलाले दुई जना बिचको सम्बन्ध बारे गाउँ घरमा हल्ला भएको र विवाह गर्न प्रस्ताव गरेपछि हत्या आरोपी मल्लले विवाह अस्विकार गरेका थिए । त्यसपछि निजलाई मार्ने मनसायका साथ फलामको तावा, सिलौटो लगायतका घरेलु औजारले हानेर सलले घाँटी थिचेर हत्या गरेको डिएपसी पोखरेलले बताउनुभयो । 

प्रहरीले आरोपी मल्लको घरबाट मृतकको मोबाईल समेत बरामद गरेको छ । यसका साथै रगत लागेको तावा, सिटौलो, चम्चा लगायतका प्रमाणहरु प्रहरीले घटनास्थलबाट बरामद गरेको बताईएको छ । 

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी पोखरेल, इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नविक मरासिनी र ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक इश्वर देव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 

यसका साथै घटनाको अनुसन्धानको लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी बरिष्ठ नायब निरीक्षक नारायण प्रसाद शर्माको नेतृत्वको बिशेष अनुसन्धान टोली, नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश (हाल नेपागञ्ज) प्रहरी निरीक्षक बुद्धि प्रसाद शर्मा र केनाईन शाखा कोहलपुरबाट प्रहरी नायब निरीक्षक बिष्णु पौडेलको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोलीले आएर घटनाको अनुसन्धान सुरु गरेको थियो । 

प्रतिवादी मल्ललाई रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्