Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपदबाट मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारले अझै राहत पाएनन् 

सोमबार, साउन २८, २०८१
tribeni2

रुकुम पश्चिममा मनसुजन्य विपदका घटनामा परेर मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारले महिना दिन पुग्नै लाग्दा पनि राहत रकम नपाएको बताएका छन् । 

जिल्लाको आठबिसकोट नगरपालिका –१२ का चार जना र मुसिकोट नगरपालिका –७ का एक जनाको बाढीको कारण मृत्यु भएको छ भने आठबिसकोट नगरपालिका –१२ कै एक जना बाढीमा परेर हालसम्म बेपत्ता हुनुहुन्छ । मृतक तथा बेपत्ता परिवारजनले हालसम्म पनि राहत रकम (आर्थिक सहायता) नपाएको गुनासो गर्नुभएको छ । 

गत साउन १ गते बिहान बाढीको कारण टहरामा पुरिएर मृत्यु भएकी आठबिसकोट नगरपालिका –९ की चार बर्षिया बालिका मनिषा सार्कीका बुवा लालबहादुर सार्कीले हालसम्म राहत रकम पाउन नसकेको बताउनुभयो ।

उहाँले छोरीको मृत्युपछि केहि संस्थाले सामान्य राहतका सामाग्री दिएतापनि सरकारबाट आर्थिक सहायता पाउन नसकेको जनाउनुभयो । लालबहादुरले वडा कार्यालय, प्रहरी कार्यालयबाट आवश्यक कागजात बनाएर नगरपालिकामा दिईसकेको समेत जानकारी दिनुभयो । 

सोहि दिनको बाढीमा परेर बेपत्ता हुनुभएका आठबिसकोट नगरपालिका –१२ का डिल्लीबहादुर बुढाथोकीकी जेठी छोरी रेनुका सरकारले दिने राहतका बारेमा परिवारमा कुनैपनि जानकारी नभएको बताउनुभयो । उहाँले अझैसम्म बुवाको लाश र सासको बारेमा पत्तो नरहेको र कहिबाट पनि राहत नपाएको जानकारी दिनुभयो । 

विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड (सातौ संशोधन), २०७७ अनुसार घटनाको भएको ३० दिनभित्र मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराईनुपर्छ । तर घटना भएको २८ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालयमा निवेदन तथा राहतको लागि सिफारिस प्राप्त भएको छैन । 

मनसुजन्य विपदका घटनामा मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई मापदण्ड अनुरुप दिनुपर्ने राहत रकमको लागि निवेदन तथा सिफारिस नै नआएको प्रशासन कार्यालयले जनाएको छ ।  

मापदण्ड अनुसार मृतकका परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था रहेको छ । विपदकै कारण बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरेमा मृतक सरह राहत उपलब्ध गराउने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ । आवश्यक सिफारिससहितको कागजात आएमा तत्कालै मृतक तथा बेपत्ता परिवारको नजिकको हकदारलाई राहत रकम उपलब्ध गराईने प्रशासनको भनाई छ ।

घटनापछि साउन ३ गते कर्णाली प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको बिशेष उपस्थितिमा बसेको जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकले यथासक्य पीडित परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको थियो । 

मृतक तथा बेपत्ता परिवारजनलाई आर्थिक सहायताका लागि स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिस, सम्बन्धित वडाको सिफारिस, मृत्यु दर्ता, राहत प्राप्त गर्ने नजिकका कानूनी हकवाला सँग मृतकको नाता प्रमाणित, नागरिकता र बैंकको चेकको फोटोकपी, घटनास्थल मुचुल्का तथा लाशजाँच प्रकति मुचुल्का र पोष्टमार्टम रिपोर्ट आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा साउन १ गते बिहान तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता हुनुभएको थियो । सोहि नगरपालिका १२ निवासी ८ वर्षिया धनुषा पुन र १० वर्षिया हितमाया पुन र वडा नम्वर ९ निवासी ४ बर्षिया मनिषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्वर १२ निवासी ३७ वर्षिय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको थियो ।

त्यसैगरी साउन ३ गतेका दिन वडा नम्वर १२ कै ५५ बर्षिय चन्द्रे पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो । बाढीकै कारण मुसिकोट नगरपालिका ७ निवासी तेजबहादुर बुढाको पनि साउन १९ गतेका दिन स्थानीय चुनखोलामा बगेर मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्