Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हुकाममा छैन खानेपानी, स्थानीय भन्छन् - कस्लाई भन्न जानी ?

रुकुम टुक्रिएसँगै हरायो हुकामको खानेपानी योजना
२०७८ कार्तिक १६
tribeni2

रुकुम पूर्व / नेपालको संविधानले विभिन्न मौलिक हकहरुको व्यवस्था गरेको छ । गास, बास र कपासलाई आधारभूत आवश्यकताको रुपमा स्विकार पनि गरेको छ । तर, लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वका नागरिकहरु शुद्ध पीउने पानीको अभावमा बर्षौ देखि जीवन धकेलिरहेका छन् ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकाममा खानेपानीको चरम अभाव बर्षौ देखि उस्तै रहेको छ । विकट जिल्लाको झन् ठाउँमा रहेको हुकाम गाउँका जनताले वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका हुन् ।

हुकामका टोलहरुमा खानेपानीका धाराहरु नभएका होईनन्, तर ती धारामा पानी आउदैन । ठड्याईएका धाराका पोलहरु पानी नआउँदै जिर्ण बनेका छन् । रुकुम सिंगो हुँदा खानेपानी कार्यालय रुकुमबाट वडामा एक घर एक धाराको खानेपानी आयोजनाको काम थालिएको थियो । तर जिल्ला टुक्रिएपछि योजना पनि टुक्रियो । न कार्यालयले वास्ता गर्यो न त अन्य कुनै निकायले । त्यो योजना र बजेट लथालिंग भयो ।

हुकामका करिब साढे चार सय घरधुरीमा ६ वटा मात्रै खानेपानीका धाराहरु रहेका छन् । सोमबारे औशि झै गरेर बिरलै पानी आउने ती धाराबाट जनताले सहजै पिउने पानी पाउन सकेका छैनन् । धेरै घरधुरीमा खानेपानीको पहुँचमा छैनन् । हिँउदको समयमा झन् निकै समस्या झेल्नु पर्ने बाध्यता रहेको छ । पानीका मुहानहरु सुख्खा हुने भएकोले हिउद याममा पानीको जोहो गर्न धौ पर्ने गरेको स्थानीयले बताए ।

गाउँमा खानेपानीको अभावले गर्दा खोलाको पानी पिउनु पर्ने बाध्यता रहेको छ । हुकामका अशोक घर्तीमगरले गाउँमा खानेपानीको समस्या हुँदा पनि सरोकारावाला निकायहरुले चासो नदिएको गुनासो गर्नुभयो । वडाका प्राय टोलमा खानेपानीको समस्या रहेको छ उहाँको भनाई छ ।

वडा अध्यक्ष कालिप्रसाद रोकाले कुमैधारी मुहानबाट पानी ल्याइएको तर अलपत्र अवस्थामा रहेको बताउनुभयो । उक्त आयोजनालाई पुर्णता दिनका लागि माथिल्लो निकायसम्म पहल गरे पनि सुनुवाई नभएको वडा अध्यक्ष रोकाको भनाई छ ।

खानेपानी आयोजनाको ट्यांकी निर्माण गरिएको छ तर पाइप छैन । गाउँसम्म पानी लिने अरु यपाय पनि छैन । यस वर्ष भने उक्त खानेपानी आयोजनालाई पूर्णता दिन सकिने अध्यक्ष रोकाको आश्वास स्थानीयले सुनिरहेका छन् । वडा अध्यक्ष रोकाले प्रदेश सरकारबाट १० लाख बजेट परेकोले अधुरो रहेको खानेपानी आयोजनालाई पूर्णता दिइने बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्