Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पताल : गाडि थन्काउने ‘ग्यारेज’लाई त्रिपालले बेरेर बिरामी बेडको व्यवस्था  

जिल्ला अस्पतालमा बिरामीको चाप : १५ शैयाको अस्पतालमा ४० बिरामी भर्ना
बुधबार, साउन ३०, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक बेड थपिएको छ । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकोले अस्पताल विकास समितिले वैकल्पिक बेड व्यवस्थापन गरेको जनाएको छ । 

अस्पताल परिसरमा बाल रोग, हाड जोर्नी तथा फिजियोथेरापी सेवा भईरहेको भवनको छेउमा गाडि पार्किङका लागि बनाईएको ग्यारेजलाई त्रिपालले बेरेर केहि बेडहरु व्यवस्थापन गरिएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले उक्त स्थानमा अहिलेलाई चार वटा बेडहरु राखिएको र आवश्यकता परेमा थप बेडहरु थप्न मिल्ने बनाईएको बताउनुभयो । उहाँले १५ शैयाको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपर्ने बाध्यता रहेकोले बैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो । 

अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले बेड राखिएको छ । हिजोआज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ । 

455346837_1486726228617835_3354173559010761703_n-1723629532.jpgमनसुनजन्य विपदका घटनाहरु, मौसमी फ्लू लगायतका बिरामीहरू बढिरहेकोले वैकल्पिक बेड थपिएको अध्यक्ष कुसारीले बताउनुभयो । बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको तर दरबन्दी र क्षमता भने १५ शैयाको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको अध्यक्ष कुसारीले उल्लेख गर्नुभयो ।
२०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन ।

छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुम पूर्वको अस्पतालको क्षमता बृद्धि गरिएको तर रुकुम पश्चिमको जिल्ला अस्पताललाई वेवास्ता गरिएको गुनासो रहेको छ । सेवा प्रवाहका हिसाबले भने यो अस्पताल अब्बल रहेको बताईन्छ । 

हाल जिल्ला अस्पतालबाट बाल रोग र महिला तथा स्त्री रोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । यसअघि हाड जोर्नी र नशा सम्बन्धी बिशेषज्ञ सेवा सञ्चालन भएतापनि जनशक्ति अभावले रोकिएका छन् । रोकिएको विशेषज्ञ सेवा समेत तत्कालै सुचारु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्