सोसल मिडिया
काग तिहार अर्थात आजकै दिन सुरु हुन्थ्यो त्यो बेला गाउँगाउँ पुगेर देउसी खेल्ने कर्म । हिजो दिनभर भैलिका सामाग्रीको जोहो र मध्यरातसम्म कुन गाउँबाट खेल्ने, कति बजे जम्मा हुने, को को खेल्ने भनेर अन्तिम नामावली बनाउँदैमा बितेको क्षण आज झलझलि आएको छ । धेरे बर्ष बितेको त छैन, तर बढेको उमेर र प्रविधिको जमानाले वाल्यकालको भैली सम्झेर पनि औधि खुशि दिलाउँछ । मनमा काउकुती लगाउँछ ।
वाल्यकालमा दशैको टिका कै दिन देउसीको अभ्यासको लागि साथीभाई मिलेर साँझ धानको पराल चोर्ने अनि कुनै घरको कोठा(भंग)मा ओछ्याउने गरिन्थ्यो । सोही रातिदेखि नै देउसीको अभ्यास सुरु हुन्थ्यो । जहाँ केटा केटी दुवैको उपस्थिति रहन्थ्यो । रातको करिव ११/१२ बजेसम्म अभ्यास नै गरिन्थ्यो । त्यो बेला ञप्रि रेकर्डेड देउसी भैलोका गीतहरु थिएनन् । भए नि हाम्रो पहुँच थिएन ।
हाम्रा मौलिक बाजाहरु (मादल, ट्याम्की, मुरली, झ्याली, चाँप आदि) र आफै भट्याउने (गीत गाउँने) गरिन्थ्यो । टिममा एकजना केटा पक्षको र एकजना केटी पक्षको क्याप्टेन हुन्थे, जसले अनुशासन कायम गर्न मद्दत पुग्थ्यो । प्रत्येकले १० रुपैया उठाएर केहि आधारभूत आवश्यकताका सामानहरु किन्थ्यौ ।
अभ्यास गर्दागर्दै रातको १२ बजिसक्थ्यो र केटिहरु आआफ्नो घर जान्थे । केटाहरू आफ्नै गाउँ वा छिमेकी गाउँमा काँक्रा चोर्न निस्किन्थ्यौ । काँक्रा कुन ठाउँमा र कसको घरमा छन् भन्ने कुराको टुंगो दिउँसो नै लागिसकेको हुन्थ्यो । रातमा हिड्दा न आजभोलिका जस्ता आधुनिक टर्च लाइट हुन्थे, न मोबाइल नै । सेल (ब्याट्री)बाट चल्ने टर्च हुन्थ्यो । त्यो पनि पैसा नभएर नयाँ सेल हाल्न नसकी झुइझुइ मात्र गर्दथ्यो । टोकिटोकि टर्चका ब्याट्रिको पावर बढाउने उतिबेलाकै वैज्ञानिक परिम् क्यारे ।
काँक्रा चोर्न भनेर जब काँक्रो भएको स्थानमा पुग्थ्यौ, कहिलेकाँहि त घरका मान्छे आउने मुल ढोकामा सिस्नो झुन्ड्याइएर राख्थ्यौ । ताकी चोर्दै गर्दा घरका मान्छेले थाहा पाएर बाहिर आइहाले पनी मुखैमा सिस्नोले चिलोस् र भेटाउन नसकुन भनेर ।
चोरी आफैमा नराम्रो कार्य, त्यसमा झन सिस्नो झुन्ड्याउने अझै अमर्यादित कार्य गर्न उत्प्रेरित गर्न सायद त्यो चुलबुले उमेर नै काफि थियो । काँक्रो चोरी गर्ने क्रममा कहिले सहजै चोथ्र्यौ त कहिले अधेरी रातमा निकै भागदौड पनि हुन्थ्यो । त्यस क्रममा अलिअलि चोटपटक समेत लागेको याद छ । भागदौड गरेर त्यही पराल ओछ्याइएको सुत्ने ठाउँमा पुगिन्थ्यो र केही घन्टा सुतेर बिहानै घर गइन्थ्यो । दिनभरि घरको केही काम, स्कुलको गृहकार्य र राती चोर्नको लागि काँक्रोको जोहो गर्न वरपर घुमिन्थ्यो । त्यतिबेला दशै र तिहारको बिचमा स्कुल नखुल्ने हुँदा स्कुल जान पर्दैन्थ्यो । अहिले भन्न मन लाग्छ, आहा त्यो दशै त्यो तिहार ।
केही दिनको अभ्यास पश्चात काग तिहार नभए कुकुर तिहारको दिनदेखी देउसी सुरु हुन्थ्यो । छिमेकी गाउँहरुमा देउसी खेल्दै जाने र जहाँ रात पर्यो त्यही बास मागेर बस्ने गरिन्थ्यो । बास बस्ने क्रममा एउटा अविस्मरणीय क्षणको याद अहिले पनि आउँछ । हामी देउसी खेल्दै छिमेकी गाउँमा गएका थियौं । आफन्तै पर्नेको घरमा बास मागेर भर्खर सुतेका के थियौं, त्यो घरको अंकल मदिरा सेवन गरेर आउँनुभएको रैछ, हामीहरुको शरीरमा तातो भुभुरो (खरानी) हालिदिन्छु भन्दै कराउन थाल्नुभयो । डरको कारण हामी त्यो रातभरि नसुती उज्यालो भयो । सबेरै अर्को गाउँ जाने बहानामा बास बसेको घर छोड्यौ ।
कहिले भाइटिकाको दिनसम्म त भोलिपल्ट सम्म देउसी खेलिन्थ्यो । करिव ४,५ दिन सम्म देउसी खेल्दा मादल बजाउनेका हात फुटेका, भट्याउनेको स्वर सुकेको र नाच्नेको खुट्टा दुखेका हुन्थे । तर त्यो दुख, पीडा उमंगको कोसेली भित्र राख्दा सामान्य नै लाग्थ्यो ।
देउसी सकेको भोलिपल्ट वा पर्सीपल्ट नै भोज खाने कार्यक्रम तय गरिन्थ्यो । धेरै पैसा नहुने हुँदा कुखुरा किनिन्थ्यो, त्यो पनि देउसी खेल्दा पाएको रकम र चामल बेचेर जम्मा भएको पैसाले । घरबाट सबै जनाले एक गिलास चामल, नुन, खुर्सानी, तेल, बेसार, थाली, गिलास सबै लगेर खोला किनारमा जान्थ्यौ । सबैजना मिलेर खानेकुरा पकाउने र खाने गथ्र्यौ । खानेबेला केटाहरुलाइ कुर्सी चाहिने । खोलाका ढुङ्गाहरु बटुलेर कुर्सि बनाउथ्यौ र खाना खाइ सकेर एकछिन त्यही नाचगान गरि साँझपख घर फर्किन्थ्यौ ।
**********स्कुल लेभलको पढाई सकियो । कलेजको पढाई सुरु भयो । आफैलाइ पनि अलिअलि तन्नेरी भएको महसुस हुन थाल्यो । अब पहिले जस्तो परालमा सुतेर अभ्यास गर्न मनले सोच्नै छोड्यो । तर एउटा कुरा चाहिँ राम्रो भयो । काक्रो चोर्ने काम पनि बन्द भयो । प्रविधिले सहज बनायो । प्रि रेकर्डेड गीतमा देउसी खेल्न थालियो । हाम्रा मौलिक बाजाहरु हराए, बजाउने र भट्याउने मान्छे समेत हराए । एउटा रेकर्डेड गीतले नै सबै कुरा समेटेपछी खुबै सजिलो महशुस हुन थाल्यो ।
सुरुका केही वर्षहरुमा मौलिकता मात्रै हराएको थियो । माया, प्रेम, आपसी, सद्भाव, अनुशासन जीवितै थियो । दाजुभाइ, दिदिबहिनी सबै सङ्गै मिलेर देउसी खेलिन्थ्यो । उक्त देउसीमा बिहे गरेर गएका दिदिबहिनीहरु समेत सामेल हुनुहुन्थ्यो, निकै रमाइलो हुन्थ्यो । तर पछिल्लो वर्षहरुमा न मौलिकता बच्यो न माया, प्रेम, आपसी, सद्भाव बच्यो, न त अनुशासन नै । केही साथिभाइहरुले मदिरा सेवन गर्न थाले । संस्कारपूर्वक केटाकेटी सङ्गै देउसी खेल्ने अवसर हरायो ।
केटाहरु छुट्टै र केटीहरु छुट्टै देउसी खेल्न सुरु भयो । केटाहरुको देउसी अलि भड्किलो हुन थाल्यो र नेतृत्वविहिन पनि । जसको परिणाम आज ससाना केटाकेटीहरु र कहिलेकाही महिलाहरुको देउसी बाहेक अरुको देख्न पाइदैन । यसरी त भोलिका पीढिले पहिले देउसि पनि खेलिन्थ्यो रे भन्न बेर लाउने छैनन् ।
तिहार हाम्रो निकै ठुला चाडपर्वहरु मध्यको एउटा महत्वपूर्ण चाड हो । यस अवसरमा देउसी, भैलो खेल्ने, दिदिबहिनी, दाजुभाइ बिचको प्रेम र स्नेह बाँड्ने गरिन्छ । देउसी आफैमा निकै मौलिकता बोकेको नाचगान सहितको संस्कृतिक कार्यक्रम हो । आजको खुल्ला, उदार र विश्वव्यापिकरणको युगमा प्रविधिको उच्चतम् प्रयोग गर्दै हाम्रा मौलिक संस्कृतिको संरक्षण गर्दै देउसी भैलीलाई थप मर्यादित र परिष्कृत गर्नुपर्ने देखिन्छ ।