सोसल मिडिया
शुभप्रभात !
एउटा गाउँमा एक पटक झाडापखालाको भयङ्कर महामारी फैलियो । झारफुक–औषधिमूलो केहीले पनि काम गरेन । अन्त्यमा गाउँका प्रधानले बूढा–पाका, वैद्य–कविराज र तान्त्रिकहरूसँग बैठक गरे । बैठकको अन्त्यमा एउटा उर्दी जारी गरियो– “भोलि औंसीको राति हरेक घरले एक–एक बाल्टी दुध ल्याएर गाउँछेउको सुकेको पोखरीमा हाल्नू, त्यसपछि मात्र महामारीको प्रकोप रोकिनेछ ।”
महामारी रोकिने उपाय सुझेको थाहा पाएर गाउँलेहरू खुशी भए । तर, आफूलाई निकै बाठी ठान्ने एउटी कञ्जुस बूढीलाई लाग्यो सबैले दुध हालेको पोखरीमा मैले एक बाल्टी पानी खन्याइदिए के फरक पर्ला र ? बूढीले अँध्यारोमा चूपचाप एक बाल्टी पानी लगेर पोखरीमा हालिदिईन् ।
भोलिपल्ट उज्यालो भएपछि प्रधानसहित गाउँले पोखरीमा दुध हेर्न भेला भए । तर, विडम्बना पोखरी सङ्लो पानीले भरिएको थियो, त्यहाँ एकै बाल्टी दुध पनि परेको लक्षण थिएन । यथार्थमा, ती धूर्त बूढीको मनमा जे–जस्तो विचार आएको थियो– भद्र–भलाद्मीका रूपमा नाम कमाएका अरू गाउँलेको मनमा पनि त्यस्तै बेइमान विचार पैदा भयो । सबैले सोचे “म एकजनाले पानी हालेर के हुन्छ र ?” अनि पोखरीमा सबैले पानी मात्रै हाले; दुध कसैले पनि हालेनन् ।
हाम्रो जीवनमा पनि त्यस्तै हुन्छ । हामी सोच्छौं, ‘म एउटाले राम्रो काम नगरेर के हुन्छ र, अरूले त गरिहाल्छन् !’ तर व्यवहारमा कसैले पनि राम्रो काम नगर्न सक्छन् । जबकि ‘अरूले जे गरे पनि म चाहिं राम्रो गर्छु’ भनेर एउटाले राम्रो सोच्ने र त्यस अनुसार काम गर्ने हो भने सबैले त्यसै गर्छन्, काम बिग्रिंदैन, सबैको भलो हुन्छ ।
(शेर प्रसाद ढकालको फेसबुकवालबाट)