Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिमैचाका सुन्तलामा कालोपोतो र दाना झर्ने समस्या

कालोपोतो लागेका बोटमा दाना लागेन, अन्य बोटबाट सुन्तला झर्ने समस्या
बुधबार, भदौ ५, २०८१
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ बिमैचामा व्यवसायीक रुपमा गरिएको सुन्तलाका बोटमा कालोपोतो र बोटबाट दाना झर्ने समस्या देखा परेको छ । 

यहाँका सुन्तलाको बोटमा कालोपोतो लागेपछि फल नै लागेका छैनन् भने दाना लागेका रुखबाट फल पाक्न नपाउँदै झर्ने समस्या देखिएको हो । 

सुन्तला उत्पादक किसान हर्कराम पुनले बारीका सुन्तलामा कालोपोतोले समस्या उब्जाएको बताउनुभयो । सात वर्षअघिबाट सुन्तला खेती गर्दै आउनुभएका उहाँले यस वर्ष कालोपोतोकै कारण बोटमा फल लाग्न नपाएको जनाउनुभयो । उहाँको बारीमा रहेका करिब १५० वटा सुन्तलाका बोटहरुमा फल लागेको छैन । सबै बोटका पातहरुमा कालोपोतो लागेको छ । 

कृषि पेशामा निर्भर उहाँको परिवारले हरेक बर्ष सुन्तला बेचेर परिवारको खर्च धान्दै आएको थियो । पुनले भन्नुभयो, ‘पुरै बोटहरु कालोपोतोले कालै देखिएका छन्, यहि रोगको कारण फल नै लागेन । उपचारको मेसो केई नपाएकोले यो समस्या झन् बढ्दै गएको छ ।’

सोहि गाउँमा अर्का किसान कौशिला पुनको सुन्तला बारीमा भने दाना झर्ने समस्या देखिएको छ । उहाँको बारीका करिब ५० बोटका सुन्तला रस लाग्न नपाउँदै झर्ने गरेका छन् । हरिया दाना झर्दै जाँदा बोटहरु रित्तो भएको पुनले जानकारी दिनुभयो । 

पुनको बारीमा करिब तीन सय बोट सुन्तलाका रहेका छन् । हरेक वर्ष सुन्तला बिक्रिबाट घरखर्च चलाउँदै आएको तर यस वर्ष समय नपुग्दै दाना झर्दा चिन्ता बढेको उहाँको भनाई छ । के कति कारणले सुन्तलाका दाना झर्न थालेका हुन् भन्ने बारेमा जानकारी पाउन नसकेको पुनले बताउनुभयो । 

orange--1724239674.jpgयस बिषयमा त्रिवेणी गाउँपालिकाका कृषि शाखाका प्रमुख रमेश पुनले तापक्रम तथा वातावरण नमिल्दा यस खालका समस्या देखिने बताउनुभयो । किसानहरुले यस बिषयमा गाउँपालिकामा जानकारी नगराएको उहाँले उल्लेख गर्नुभयो ।

हिँउदयाममा बोटको आवश्यक गोडमेल नभएको, आवश्यक पानीको व्यवस्था हुन नसकेकोले पनि कालोपोतो लाग्ने तथा फल झर्ने समस्या देखा परेको हुनसक्ने कृषि प्राविधिक पुनले जनाउनुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्