Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानका भूकम्पपीडितले पहिलो किस्ता पाउन सकेनन्

शुक्रबार, भदौ ७, २०८१
tribeni2

सल्यान । गत बर्षको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर क्षति भएका सल्यान दार्मामा दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् ।  

दार्मा गाउँपालिका ३ का भूकम्पपीडित डिल्लीबहादुर खत्रीले अहिलेसम्म सरकारका तर्फबाट कुनै रकम प्राप्त नगरेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित भएर अस्थायी आवास बनाए पनि अहिलेसम्म राहत प्राप्त भएको बताउनुभयो । 

स्थानीय र विभिन्न राजनीतिक दलका स्वयंसेवकको सक्रियतामा अस्थायी आवास दार्मामा निर्माण गरिएको थियो । भूकम्पले दुई घर भत्काएपछि दार्मा गाउँपालिका ५ की धनी केसी अस्थायी आवासमा बस्दै आउनुभएको छ । 

अस्थायी आवासमा बस्दा अन्य समयमाभन्दा वर्षाको समयमा झनै गाह्रो भइरहेको भूकम्प प्रभावितको भनाइ छ । दार्मा गाउँपालिका २ टेक बहादुर केसीले २ वर्ष पहिले ऋण लिएर घर बनाएको घर भूकम्पले भत्काएपछि अहिले अस्थायी आवासमा बस्दै आउनुभएको छ । 

दार्मामा अस्थायी आवास निर्माणका लागि छानिएका चार हजार ८१ लाभग्राहीमध्ये हालसम्म एक हजार ६७४ घरधुरीले मात्र पहिलो किस्ता रकम पाएका छन् । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाखमध्ये १६७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको बताउनुभयो । 
उहाँका अनुसार रकम अपुग भएका लाभग्राहीलाई चाहिले आवश्यक रकम संघीय सरकारसँग माग गरिएको छ । संघीय सरकारबाट निकासा रोकिँदा भूकम्प पीडितलाई पहिलो किस्तावापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।

सर्वदलीय निर्णय गरि भूकम्प प्रभावित चार हजार ७४ घरधुरीलाई स्थायी आवास निर्माणका लागि प्राधिकरणमा सिफारिस गरिसकिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लाभग्राहीमध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्