नेभिगेशन
अर्थ/वाणिज्य

दुई नगरपालिकामा एक बर्षमै करिब ४४ लाखको खाजा, नास्ता खर्च

रुकुम पश्चिमका दुई वटा नगरपालिकामा एकै वर्षमा करिब ४४ लाख रुपियाँ खाजा तथा नास्ताको लागि खर्च गरेको पाईएको छ ।

जिल्लाको मुसिकोट र चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा खाना तथा खाजाको लागि ४३ लाख ९३ हजार ७२६ रुपियाँ खर्च गरेका हुन् । 

महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार चौरजहारी नगरपालिकाले उक्त आर्थिक बर्षमा २२ लाख ४१ हजार २३० रुपियाँ र मुसिकोट नगरपालिकाले २१ लाख ५२ हजार ४९६ रुयियाँ खाजा, नास्तामा खर्च गरेको देखिन्छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय तहले निर्धारित बजेट एवम् आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा मात्र विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

महालेखापरिक्षकको कार्यालयलले चालु खर्च शिर्षकबाट वडा कार्यालय समेत गरी कार्यपालिकाका विभिन्न समिति, उपसमितिहरुको खाना तथा खाजा, स्टाफ मिटिङ, अतिथि सत्कार चिया खाजा खर्चमा उक्त रकम खर्चिएको जनाएको छ । तर यो खर्चलाई मितव्ययी तरिकाले खर्च नभएको महालेखाको ठम्याई रहेको छ । 

कार्यविधि बनाई औचित्य र आवश्यकताको आधारमा मात्र खर्च गरी यस्तो खर्चमा नियन्त्रण गरी मितव्ययीता गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । यसका साथै आन्तरिक आयको अवस्थाको मूल्याङकन गरी खर्च धान्ने दिगो आधार भएमा मात्र मितव्ययी तवरले यस्तो खर्च गर्नेतर्फ पालिकाले ध्यान दिनुपर्ने महालेखाको भनाई रहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य