Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाढीपीडित सुत्केरी र विपन्न परिवारको बिचल्ली, राहतमा विभेद गरिएको गुनासो

आइतबार, भदौ ९, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ११ का एक बाढीपीडित परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन् । 

भूकम्पले घर भत्काएको र बाढीपहिरोले टहरो बगाएको बताउँदै उनीहरुले स्थानीय सरकारबाट सुत्केरी, गरिव तथा विपन्न गरिवारलाई वेवास्ता गरिएको आरोप लगाएका छन् । 

गोईरी गाउँका नन्दे धौलाकोटीको भूकम्पले घर भत्काएपछि सुत्केरी श्रीमती र नावालक सन्तानको साथमा अस्थायी टहरामा बस्दै आउनुभएको थियो ।

लगातारको बर्षाको कारण आएको बाढी तथा पहिरोले उक्त टहरो पनि बगाएपछि उक्त परिवारको अहिले बिचल्लीमा परेको स्थानीय हिमाल बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लगाउने कपडा समेत टहरासँगै बाढीले बगाएपछि अहिले गाउँलेको शरणमा पुग्नुभएको छ । 

बाढीले बिचल्ली बनाएको महिना दिन पुग्दा समेत सुत्केरी, गरिव तथा विपन्न परिवारतर्फ कसैको ध्यान जान नसकेको उहाँले उल्लेख गर्नुभयो । धौलाकोटीको श्रीमती, एक वर्षको छोरी र नाबालक दुई छोरा अहिले गाउँमा आश्रय लिएर बसेका छन् ।

बाढीले टहरा र त्यसभित्रको सम्पूर्ण सामाग्री बगाएपछि प्रहरी समेत आएर मुचुल्का बनाएको थियो । पीडितको निवेदन, प्रहरी मुचुल्का, वडा कार्यालयको सिफारिस नगरपालिकामा पठाएतापनि हालसम्म बेवास्ता गरिएकोस उहाँको भनाई छ । 

बाढीपीडित धनमाया धौलाकोटीले अहिलेसम्म कहिकतैबाट राहत नपाएको बताउनुभयो । लगातारको वर्षा, उचित खानपिनको अभावका कारण बालबच्चाहरु बिरामी हुन थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘श्रीमान् कालापहाड जानुभएको छ, यता लालाबालासँग मेरो दैनिकी कमजोर भईरहेको छ । हामी गरिबलाई कसैले हेरेनन् ।’

भूकम्प र बाढी पहिरोको बेला विभिन्न संघ संस्थाहरुले पीडितहरुलाई राहत दिने गरेको आफूले सुनेतापनि अहिलेसम्म कोहिले पनि आफूलाई सहयोग नगरेको उहाँले जानकारी दिनुभयो । 

पहुँच पुग्ने र पार्टी मिल्नेहरुले मात्र समयमै राहत पाउने गरेको, अरुको वेवास्ता भएको पीडित परिवारको आरोप छ । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्