सानीभेरी गाउँपालिका अस्पतालमा पहिलोपटक तिम्ल्याह बच्चाको जन्म

मंगलबार, भदौ ११, २०८१

रुकुम पश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले तीन जना बच्चाको जन्म दिनुभएको छ ।

चौरजहारी नगरपालिका १४ घर भई हाल सानीभेरी गाउँपालिका ८ स्थित माईती घरमा बस्दै आउनुभएकी १८ वर्षिया कौशिला पुनले तिम्ल्याह बच्चा जन्माउनु भएको हो । 

अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मंगलबार) बिहान ८ः१५, ८ः३७ र ९ः०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो । जन्मिएका नवजात शिशुहरु दुई छोरी र एक छोरा हुन् । स्टाफ नर्स ओलीका अनुसार पुनले समय पुरा नहुँदै ( करिब २८ हप्तामै)  तीन बच्चाको जन्म दिनुभएको हो । सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ । 

सुत्केरी व्यथा लागेर आफै अस्पताल पुग्नु भएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र रहेको छ । तौल पनि कम र श्वासप्रश्वासमा केहि समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाईएको उहाँले जानकारी दिनुभयो । 

स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याह बच्चा जन्मिएको पहिलो पटक हो । जुम्ल्याह बच्चा जन्माएको घटना फेस गरेको भएतापनि पहिलोपटक तिम्ल्याह बच्चा जन्मिएको घटना फेस गरेको उहाँले जनाउनुभयो ।     

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले तिम्ल्याह बच्चा बिरलै जन्मिने गरेको बताउनुभयो । सुत्केरी र नवजात शिशुहरुलाई गाउँपालिका एम्बुलेन्स मार्फत अस्पताल ईन्चार्ज कर्णबिर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो  । गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेका बिरामी तथा घाईतेहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने गरेको छ ।

456731256_3980386625524156_7935713094583644035_n-1724753038.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्