पुमा खोला पुल नहुँदा विद्यालय जान पाउँदैनन् बालबालिका, सर्वसाधारणलाई सधैं सास्ती

बुधबार, भदौ १२, २०८१

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा रहेको पुमा खोलामा पुल नहुँदा यहाँका सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । 

हिउँदमा खोला तरेर आवतजावत हुने अवस्था भएतापनि बर्षायाममा पानीको मात्रा बढ्दा आवतजावतमा समस्या हुने गरेको छ ।  यतिबेला खोलामा रहेको कल्भर्ट भन्दा माथीबाट खोला बग्न थालेपछि यातायातका साधनहरु समेत अवरुद्ध हुने गरेका छन् । 

यहि खोलाले गर्दा कहिले मान्छे बगाउने, गाडि बगाउने गरेको स्थानीयको भनाई रहेको छ । बाँफिकोट गाउँपालिका –२ निवासी सीता दाहालले हरेक बर्ष पुमा खोलाले जनतालाई दुख दिने गरेको जानकारी दिनुभयो । ‘कहिले मान्छे बगाउँछ, कहिले गाडि बगाउँछ’ उहाँले भन्नुभयो, ‘हाम्रा बालबच्चाहरु राम्रोसँग स्कुल जान पाउँदैनन् ।’ बच्चाबच्चिहरु खोलाले बगाउने डरले विद्यालय पठाउन नसकिएको उहाँले जनाउनुभयो । 

बाँफिकोट गाउँपालिका वडा नम्वर –१ की निर्मला नाथले हरेक बर्षामा पुमा खोलाले स्थानीयको दैनिकी कठिनाई बनाईरहेको बताउनुभयो । उहाँले ससाना नानीबाबुहरु स्कुल जाने बाटोमा खोला बढेको तर पुल नभएको जनाउनुहुँदै जोखिमपूर्ण अवस्थामा खोला तर्नु परेकोले जीउधन नै असुक्षित रहेको उल्लेख गर्नुभयो । 

बाँफिकोट गाउँपालिका १ का बालकृष्ण गौतमले गत वर्ष एक जना मान्छे बगाएको र यस पटक तीन चार पटक मालबहाक गाडि फसेर क्षती बेहोर्नुपरेको जानकारी दिनुभयो । तत्काल सरकारको ध्यान गएर खोलामा पुल बनेमा ठुलो राहत हुने उहाँको भनाई छ ।

गौतमले खोलाकै कारण यहाँका सर्वसाधारणहरुले जिल्ला सदरमुकाम खलङगा, गाउँपालिकाको केन्द्र, छिनेखेतमा रहेको बजार, रुकुमपूर्वको रुकुमकोट आउजाउमा सास्ती पाईरहेको उल्लेख गर्नुभयो । 

कर्णाली प्रदेश सरकारले भने चालु वर्षमा यस खोलामा पक्कि पुल निर्माणका लागि बजेट बिनियोजन गरेको जनाएको छ । प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको पहलमा एक करोड ८० लाख रुपियाँ बिनियोजन भएको बताईएको छ । 

बाँफिकोट गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष धनबहादुर खड्काले खोलामा पुल नहुँदा ठुलो समस्या झेल्नु परेको जनाउनुभयो । खोलाले मान्छे, गाडी, पशुचौपाया बगाउने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । 

यस खोलामा पुल नुहँदा वडा नम्वर १ बाट वडा नम्वर २ मा रहेको जनकल्याण माविमा पढ्न जाने र वडा नम्वर २ बाट वडा नम्वर १ मा रहेको जनभावना आविमा पढ्न जाने बालबालिकाहरुलाई समस्या भईरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । यसै वर्ष टेन्डर भएर पुल निर्माणको प्रक्रियामा जाने आशा रहेको उहाँले बताउनुभयो । 

यस खोलामा पुल बनेमा रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका १ र २ का साथै रुकुमपूर्वको ३ र ४ का स्थानीयलाई आउजाउनमा सहज हुने स्थानीयको विश्वास रहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्