Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आकस्मिक अवतरण भएका दुई हेलिकोप्टर आज आठबिसकोटमै, मुख्यमन्त्री होटेलमा, सुत्केरी एम्बुलेन्समा

आइतबार, भदौ १६, २०८१
tribeni2

रुकुम पश्चिम । खराब मौसमको कारण आकस्मिक अवतरण गरिएका दुई हेलिकोप्टर आज रुकुम पश्चिममै रहने भएका छन् । आठबिसकोट नगरपालिका –९ को रंगशालामा आईतबार दिउँसो अवतरण भएका सिम्रिक एयर ( (नाईन एन –एकेडी)  र नेपाली सेनाको  (नाईन ए ०६६) कलसाईन हेलिकोप्टर यतै रहने भएका हुन् । 

डोल्पाबाट सुर्खेततर्फ उडेका दुई हेलिकोप्टर आकमस्मिक रुपमा आठबिसकोटमा अवतरण भएका थिए । लगातारको बर्षा नरोकिएको र राती समेत भैसकेकोले दुबै हेलिकोप्टर अवतरण भएकै स्थानमा रहने भएको आठबिसकोट नगरपालिका प्रमुख रबि केसीेले जानकारी दिनुभयो । 

सिम्रिक एयरको हेलिकोप्टरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको टोली रहेको थियो भने नेपाली सेनाको हेलिकोप्टर एक सुत्केरी महिलाको उद्धार गरेर सुर्खेतका लागि उडेको थियो । 

मुख्यमन्त्री चढेको हेलिकोप्टर आईतबार दिउँसो ३ः२५ बजे र सुत्केरी बोकेको हेलिकोप्टर करिब ४ बजे आकस्मिक अवतरण भएको थियो । मुख्यमन्त्री चढेको हेलिकोप्टरमा उहाँको श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक रहेको बताईएको छ । उहाँहरु डोल्पामा सञ्चालित एक मेलाको अवलोकन र पवित्र धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि डोल्पा जानुभएको बताईएको छ । 

सुत्केरीको ज्यान जोखिममा

नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकी डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका २ की २५ बर्षिया पदमी कुमारी बुढाको ज्यान भने जोखिममा रहेको छ । सुत्केरीपश्चात साल ननिस्केको र रक्तश्राव बढी भएपछि उहाँलाई हेलिकोप्टरमार्फत सुर्खेत लिदै गरिएको थियो ।

उहाँले घरमै जुम्ल्याह बच्चा जन्माउनुभएको थियो भने एक जनाको मृत्यु भएको थियो । सुत्केरी महिला र नवजात शिशु दुवैको अवस्था बिग्रदै गएको बताईएको छ । 

आठबिसकोटमा आकस्मिक अवतरणपपछि नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरी महिलाको स्वास्थ्य उपचार गरेका थिए । उहाँको अवस्था गम्भिर रहेको छ । 

अहिले उहाँलाई आठबिसकोट नगर अस्पतालमा ल्याईएको छ । उहाँलाई सुर्खेततर्फ पठाउनको लागि पहल भईरहेको आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले जानकारी दिनुभयो । जाजरकोटको नलगाड नगरपालिकाबाट एम्बुलेन्स मगाएर उहाँलाई सुर्खेततर्फ पठाउने तयारी गरिएको छ ।

लगातारको बर्षाको कारण आठबिसकोटबाट सुर्खेत जाने सडक ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ । विभिन्न स्थानमा डोजर लगाएर सडक खुलाउने गरिएको छ ।   

मुख्यमन्त्रीको टोली भने आठबिसकोटको राडि बजारमा रहेको होटेल सन्दिमामा बसेको छ । अहिले पनि यस स्थानमा पानी परिरहेको छ । मौसम सुधार भएमा दुबै हेलिकोप्टर भोली सोमबार नै गन्तव्यतर्फ फर्कने छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्