आज बुवाको मुख हेर्ने दिन

बुवाको दुःख लौरोले बुझ्यो 

सोमबार, भदौ १७, २०८१
  • मालती बिक

चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोते बोली लरबराएका पाइला चाल्न सिकेको हामी मध्ये धैरै छौँ । त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन अहोरात्र खटेर हामीलाई कर्म गर्न अनि सुरक्षा दिने, बुवा ।

सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ । जे होस् आमा बुवा नै यस जगतका देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पुर्ण पिताहरुलाई स्मृति गर्दै कोटि कोटि नमन गरौँ । 

मेरो बुवा एक किसान परिवारमा हुर्केको अनि केहि गर्नुपर्छ भन्ने उद्धेश्य बोकेको उच्च विचारको हुनुहुन्थ्यो । आफु नपढेको भएपनि आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भनेर हामी तिनै भाईहरुलाई कक्षा १० सम्म पढाउनु भयो । हामीलाई पढाउने आयस्रोत भनेकै खेतीकिसानी अनि काठ मिस्त्रिबाट आउने सानो रकम न हो । 

बुवा रोजगारीका लागि सधँैभरी भारतमा जाने अनि मेरी आमा खेतवारी र मेलापातको काममा । हामी तिनै भाईबैनिले बुवाको माया तेती नपाएको आभास अहिले पनि हुन्छ । किनकि बुवा हाम्रो पठनपाठन र घरपरिवारको जिम्मेवारीले सधैँजसो भारत बस्नुहुन्थ्यो । 

एकदिन मेरो परिवारमा एउटा बज्रपात आईपर्यो । आज भन्दा करीब १४ वर्ष अगाडि मेरो आफन्तको भारतबाट फोन आयो । जुन दिन २०६८ माघ ११ गतेको थियो । 

मेरा बुवा बोल्न नसक्ने अवस्थामा हुनुहुदोरैछ । बुवालााई प्रेसरले हानेको रहेछ । हामी हतार हतार बुवालाई लिनभनि आमा, मामा, भाई अनि म भारत तिर गयौँ । ३ दिनको यात्रापछि भारतको पुडक स्थित मेरी भन्ने ठाँउमा पुग्यौ । जहाँ बुबा बोल्न अनि हिडडुल गर्न नसक्ने अवस्थाका हुनुहुन्थ्यो ।

हामी त्यहाँबाट भोलीपल्टै नेपालको लागि बाटो तय गरेर गाडि चढ्यौ । त्यो यात्रा हाम्रा लागि त्यती सजिलो थिएन । हामी ३ दिनको यात्रा पछि नेपालगन्ज पुग्यौ । नेपालगन्जमा युनाईटेड हस्पिटलमा बुवाको उपचार सुरु भयो । जुन समय हाम्रा लागि निकै कष्टकर थियो । 

बिरामी बुवाको अवस्थाले आमा निकै निराश हुनुभएको थियो । हामी आमालाई सान्त्वना दिदैँ लगातार बुवाको उपचारमा लाग्यौ । डाक्टरको सल्लाह अनुसार एकुपन्चर गर्ने भयो । तत्पश्चात बुवा नत बोल्न सक्नु हुन्छ नत खाना खान नै । 

त्यसपछिका दिन हाम्रा लागि निकै दुखदायी बिते । आफ्नो जीवन साथीसँग मेरी आमाले कहिलेपनि आफ्ना दुःख सुखका कुरा गर्न नसक्ने हुनुभयो । किनकि बुवा बोल्न नसक्ने हुनुभएको थियो । आमाका मनमा कति पीडा छन् होला, चाहेर पनि कसैलाई भन्न सक्नुभएको छैन ।

बिरामी बुवाको चिन्ताले आमा पनि निकै बिरामि हुनुभएको छ । कति अत्यास लाग्छ होला । आफन्तकोमा जान मन लाग्छ होला । तर आमा पिजडाको चरी जस्तै हुनुभयो । रातमा होस् या दिनमा आमासँग बोल्ने पनि सहारा छैन् । कति रुनमन लाग्छ होला । 

बुवाले बोल्न खोज्नुहुन्छ । तर नत मुख खुल्छ, नत हात खुट्टा नै चल्छ । म घरमा जाँदा होस् या फर्कदा, बुवा रुनु मात्र हुन्छ । मलाई बुबाले मेरो यात्राको कामना गर्न खोज्नुभएको हो मलाई थाहा छ । तर म बुवाको अगाडि त रुन सक्दिनथे । 

म कति अभागी रैछु । सानोमा बुवाको माया के हो थाहा नपाएको म । ठुलो भएपछि बुबाको माया पाउने आशमा आज बुवाको यो अवस्थाले झन् मन भतभती पोलेर आँउछ । सबैका चेलीहरु माइतीमा गएको आफ्ना बाआमा घरपरिवारसँग रमाएको देख्दा आफुलाई नि रमाउन मन लाउँछ । 

बुवाको मुखबाट छोरी भनेको सुन्न मन छ । तर के गर्नु, सबैलाई सोचे जस्तो त कहाँ हुन्छ र ! अहिले बुवाको बाहिरी दुनियाँको साहारा भनेकै लौरी हो । जुन लौरीको साहाराले घरदेखि बाहिरभित्र गर्न सक्नुभएको छ । बुवा समय र स्थितिले हामीलाई टाढा बनाउँला तर हजुरको .आशिष्, सल्लाह र माया सधैँ मेरो मुटुमा रहने छ । हजुरको मायाँ आशिर्वाद सदा सर्वदा पाइराखु मेरो बुवा ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्