Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका सांसद डिबी केसीद्वारा अदालतमा आत्मसमर्पण 

आइतबार, भदौ २३, २०८१
tribeni2

रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) अदालतमा पुगेर आत्मसर्मपण गर्नुभएको छ । 

रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गर्नुभएको हो ।  । 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिनुभयो। उहाँले सांसद केसी अदालतमा उपस्थित भएपछि अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि रुकुम पश्चिमस्थित कारागार चलान गरेको बताउनुभयो । 

स्रोतका अनुसार प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो। तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ।

३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।त्यसयता उहाँ फरारको सूचीमा रहँदै आउनुभएको थियो।

श्रीमतीसँगको मुद्दामा प्रदेश सांसद केसीले अदालतको पत्र किर्ते गरेको अभियोगमा दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।

हालसम्म उहाँले सजाय भुक्तान गर्नुभएको थिएन । गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को क बाट निर्वाचित हुनुभएको थियो। त्यसपछि फेरि भुक्तान गर्न बाँकी सजायका बारेमा चर्चा सुरू भएको थियो।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले केसीसहित विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो।

कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका केसीलाई कानुनी कारबाही गर्न मागसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउनेदेखि लुम्बिनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाएका थिए।

केसी कारागार चलान भएसँगै उहाँको पद के हुन्छ भन्ने विषय पनि छ। 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्