Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कैदको सट्टा पैसा तिरेर प्रदेश सांसद डिबी केसी रिहा

सोमबार, भदौ २४, २०८१
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी (डिबी) रिहा हुनुभएको छ । आइतबार अदालतमा आत्मसमर्पण गर्नुभएका सांसद केसीले कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा हुनुभएको हो । 

कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा अदालतबाट २०४८ सालमा दोषी ठहर हुनुभएको थियो । कैद सजाय पूरा नगरेका उहाँ रुकुमकोट जिल्ला अदालतमा आइतबार उपस्थित हुनुभएको थियो । 

त्यस लगत्तै रुकुम पश्चिमस्थित कारागारमा चलान हुनुभएका उहाँ कारागार नै नबसी एक दिन कारागार बसेको कागजी प्रक्रिया मिलाएर सोमबार रुकुम पूर्वको अदालतमा उस्पिथत हुनुभएको थियो । 

उहाँले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम एक लाख नौ हजार दुई सय रुपैयाँ तिरेर रिहा हुनुभएको हो । 

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए । 

२०४८ असार ६ मा तत्कालीन रुकुम जिल्ला अदालतले अदालतको कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उहाँ दोषी ठहर हुनुभएको थियो ।  त्यस यता उहाँ प्रहरीको फरार सूचिमा रहनुभएको थियो । 

आज नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल (क्रािन्तकारी) ले सांसद केसीको रिहाको बिरोधमा अदालत अगाडि नारा जुलुस समेत गरेका थिए । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्