Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीका पाँच स्थानमा बिशेषज्ञसहितको स्वास्थ्य जाँच शिविर सुरु

बुधबार, भदौ २६, २०८१
tribeni2

रुकुम पश्चिम चौरजहारीमा स्वास्थ्य जाँच शिविर सुरु भएको छ । चौरजहारी नगरपालिका -१० स्थित सहिद स्मृति नगर अस्पतालमा आजबाट स्वास्थ्य जाँच शिविर सुरुवात भएको हो । 

चौरजहारी नगरपालिकाको आयोजना र आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो । नगरपालिका क्षेत्र भित्रका  विभिन्न ५ स्थानहरुमा शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार आज नगर अस्पतालबाट शिविर सुरुवात गरिएको हो । 

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिद स्मृति नगर अस्पताल, १४ नम्वर वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्वर १२ र आधारभूत स्वास्थ्य केन्द्र वडा नम्वर ३ मा स्वास्थ्य जाँच शिविर सञ्चालन हुने समय तालिका निर्धारण गरिएको छ। 

शिविरमा विशेषज्ञ डाक्टर मार्फत् परामर्श, औषधीका साथै गम्भीरताका  आधारमा निशुल्क अप्रेसन गर्न सिफारिस गरिने नगरपालिकाले जानकारी दिएको छ।

शिविर मार्फत स्त्री रोग विशेषज्ञ सेवा तथा महिलाहरूमा हुने स्वास्थ्य समस्याहरूको चेकजाँच, उपचार तथा प्रेषण, पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्ने, पिसाव चुहिने तथा अन्य स्वास्थ्य समस्याहरूको चेकजाँच र उपचार सेवा प्रदान गरिने चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी किशोर किशोरीहरूमा देखिने स्वास्थ्य समस्याहरूको परामर्श तथा उपचार, गर्भवती तथा सुत्केरीहरूमा जटिलताको चेकजाँच, परिवार योजना सेवा तथा परामर्श, मनोसामाजिक मनोविमर्श सेवा र लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी परामर्श सेवा समेत प्रदान गरिने चौरजहारी नगरपालिकाले बताएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्