Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्लाको जेठो विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा कर्मचारीद्वारा तालाबन्दी गरेर धर्ना

तलब खुवाउने श्रोत छैन, स्कुल तन्नम अवस्थामा छ :  प्रधानाध्यापक के सी
बिहीबार, भदौ २७, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाईएको छ । 

जिल्लाको सबैभन्दा जेठो विद्यालय मानिने त्रिजमाविका प्रधानाध्यापक गोपीराम केसीको कार्यकक्षमा विद्यालयकै कर्मचारीहरुले तालाबन्दी गरेर धर्ना दिएका हुन् । गत वर्षको माघ महिनादेखि तलब नपाएपछि बिहिबार देखि तालाबन्दी र धर्ना कार्यक्रम सुरु गरिएको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । 

विद्यालयमा लामो समयदेखि कार्यरत पाँच जना कर्मचारीहरुलाई २०८० साल कात्तिक र पुस महिनामा पालैपालो पदमुक्त गरिएको थियो । विद्यालयका अधिकृत जयराम थापा, लेखापाल ठगबहादुर केसी, पुस्तकालय सहायक रमा शाह, कार्यालय सहयोगी डमरबहादुर महत र दुर्गबहादुर खड्कालाई बिना कारण पदमुक्त गरेपछि उहाँहरुले उच्च अदालत सुर्खेतमा रिट निवेदन दिनुभएको थियो ।  

उच्च अदालतले २०८० फागुन ९ गते र २०८१ बैशाख ३० गते अन्तरिम आदेश जारी गरेपछि कामकाज गर्दै आईरहेकोमा हालसम्म पनि तलबभत्ता नदिएकोले बाध्य भएर तालाबन्दी तथा धर्नाका कार्यक्रम गर्नुपरेको अधिकृत जयराम थापाले बताउनुभयो ।

२० वर्षदेखि कार्यरत स्थायी कर्मचारीहरुलाई बदनियतपूर्ण तरिकाले पदमुक्त गर्ने, लामो समयदेखि पारिश्रमिक नदिने विद्यालय प्रशासन बिरुद्ध आन्दोलनका विभिन्न कार्यक्रम गर्ने क्रममा प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी र धर्ना कार्यक्रम सुरु गरिएको थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यालयले कर्मचारीको श्रमको ज्याला नदिएर श्रम ऐन, २०७४ ले गरेको व्यवस्थाको बर्खिपाल गरेको छ भने पटक पटक तलब नदिनुको कारण सोध्दा सूचनाको हकको वेवास्ता गर्दै आएको छ । 

श्रमिकहरुलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाएको र प्रधानाध्यापकको असक्षमता बिरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको पुस्तकालय सहायक रमा शाहले बताउनुभयो । उहाँले श्रमिक कर्मचारीहरुप्रति गरिएको यो अन्यायको बिषयमा सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकर्षण हुनुपर्ने जनाउनुभयो ।

धर्नामा बसेका पाँच जना कर्मचारीहरुले विद्यालयको नियमित पठनपाठनमा भने कुनै बाधा अवरोध नगरेको जनाउनुभएको छ । 
तलब नपाउन्जेलसम्म आन्दोलनका कार्यक्रम जारी रहेको उहाँहरुको भनाई छ ।  

तलब खुवाउने श्रोत छैन, स्कुल तन्नम अवस्थामा छ :  प्रधानाध्यापक के सी

यस बिषयमा विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले कार्यकक्षमै बसिरहको बेला आफूलाई जबरजस्ती बाहिर निकोलेर तालाबन्दी गरेको बताउनुभयो । अदालतले काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको जानकारी दिनुहुँदै उहाँले श्रोतको अभावमा उहाँहरुलाई समयमै तलब दिन नसकिएको जनाउनुभयो ।

आन्तरिक रुपमा स्थायी गरिएका कर्मचारीहरुको लागि बार्षिक रुपमा ५० लाख बढी रकम खर्च हुने तर आम्दानीको श्रोत नै नहुने भएकोले तलब समयमै दिन नसकिएको प्रधानाध्यापक केसीले उल्लेख गर्नुभयो । 

विगतमा कामको आवश्यकताको आधारमा भन्दा पनि पावर र पहुँचको भरमा स्थायी गरिएका आन्दोलनरत कर्मचारीहरुले अहिले पनि विद्यालयमा काम भन्दा पनि धम्काउने, थर्काउने र हाजिरी मात्र गर्ने गरेको आरोप उहाँले लगाउनुभयो । 

‘बिद्यालय तन्नम् अवस्थामा पुगेको छ,’ प्रधानाध्यापक केसीले भन्नुभयो, ‘विगतमा विद्यालयमा भएका गलत अभ्यास, जग्गा बिक्रि, धार्मिक महोत्सवको नाममा भएकाको आर्थिक अनियमितता, गलत किसिमले निर्माण भएका संरचनाको कारण विद्यालय अप्ठ्यारो अवस्थामा पुगेको छ ।’ उहाँले विद्यालयको श्रोतको बारेमा अदालत लगायतका निकायमा जानकारी गराएको बताउनुभयो । 

विद्यालयको बार्षिकोत्सव नजिकिदै गएको बेला बिथोल्ने नियतका साथ तालाबन्दी र धर्नाको गलत हर्कत गरिएको उहाँको भनाई छ । विद्यालयलाई अनिर्णयको बन्दी बनाईएको समेत उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्