Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजार अनुगमन प्रभावकारी र नियमित गर्नुपर्ने माग 

शनिबार, असोज ५, २०८१
tribeni2

रुकुम पश्चिमका सरोकारवालाहरुले नियमित र प्रभावकारी बजार अनुगमनमा जोड दिएका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको संयोजनमा जिल्ला प्रशासन कार्यालयमा शनिबार गरेको चाडपर्व लक्षित बजार अनुगमन सम्बन्धिको छलफलका क्रममा सरोकारवालाहरुले परिणाममुखी बजार अनुगमनमा जोड दिएका हुन् । 

कार्यक्रममा रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले नाम मात्रको अनुगमन भन्दा पनि नियमित र सुधारात्मक अनुगमन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यापारको नाममा उपभोक्ताको अधिकार हनन् गरिने कार्यहरु रोक्न सचेतनाका कार्यक्रमहरुसँगै नियम उल्लंघन गर्ने व्यवसायलाई कानूनको दायरामा ल्याउनै पर्नेमा जोड दिनुभयो । 

छलफलमा पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले दुध तथा मासुजन्य वस्तु बिक्रि हुने पसलहरुले मापदण्ड पुरा नगरेको जानकारी दिनुभयो । उहाँले जिल्लामा कुखुराको मासु बढी मात्रामा खपत हुने तर एन्टिबायोटिक प्रयोग गरेर बिक्रि गर्ने गरेको जनाउनुभयो ।

मासु पसलहरुमा सरसफाईको अभावका साथै खसीको मासुमा बाख्रा र भेडाको मासु मिसावट हुने गरेको गुनासो आउने गरेको शर्माले बताउनुभयो ।  

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओलीले सचेतना र प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिएको र नियम उल्लंघन गरेका व्यवसायीहरुलाई जरिवाना समेत गर्ने गरेको बताउनुभयो । नियमित अनुगमनबाट उपभोग्य सामाग्रीहरुको गुणस्तरमा सुधार हुनका साथै कानूनी प्रक्रिया पुरा गर्ने कार्य समेत भईरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले प्रभावकारी अनुगमनको माग जायज रहेको बताउनुहुँदै जागरणका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उपभोग्य तथा उत्पादिन सामाग्रीको गुणस्तर मापन गर्ने निकाय र जनशक्ति जिल्लामै उपलब्ध नहुने भएकोले नाङ्गो आँखाकै भरमा वस्तुको गुणस्तर मापन गर्न बाध्य भएको उल्लेख गर्नुभयो । उहाँले सबै निकायको समन्वयमा संयुक्त र नियमित अनुगमनको कार्य हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछाने अन्य बेला भन्दा चाडपर्वको बेलामा बजारमा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ लगायतका अन्य प्रचलित कानून विपरति उपभोक्ताको स्वास्थ्यमा असर पर्ने क्रियाकलाप हुनसक्ने भएकोले सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

चाडपर्वका लागि जिल्लामा ल्याईने खाद्यन्न, तरकारी, मासुजन्य लगायतका उपभोग्यवस्तुहरुको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव हुन नदिन, मूल्यबृद्धि तथा कालोबजारी रोक्न र उपभोक्ता ठगिनबाट जोगाउन बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा लामिछानेले जोड दिनुभयो । 

bazar-anugaman-mag-1726910918.jpg

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्