Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पूर्वमन्त्री शर्माद्वारा गाराघाटमा मोटरेबल पुलको उद्घाटन

आइतबार, असोज ६, २०८१
tribeni2

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने मोटरेबल गाराघाट पुल उद्घाटन भएको छ । 

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले आईतबार पुलको उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्नुहुँदै शर्माले आर्थिक विकास तथा उत्त्पादित कृषि उपजहरु निर्यात गरेर समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । उहाँले ढिलै भएपनि गाराघाटमा निर्माण भएको पुलले विकास र सहज यातायात पहुँचमा टेवा पुग्ने बताउनुभयो ।

तीन वर्षमै सम्पन्न गर्ने गरी सम्झौता भएको गाराघाट पुल आठ वर्षपछि निर्माण हाृे । सडक डिभिजन कार्यालय चौरजहारी मार्फत आर्थिक वर्ष ०७२/०७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो । भ्याट रकम बाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा काम सम्पन्न गर्नेगरी नागार्जुन कन्ट्रक्सन कम्पनीले तीन वर्षमै निर्माण सम्पन्न हुने गरेर २०७३ असार ३१ गते सम्झौता गरेको थियो । 

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार सम्झौता गर्दाको बेला पुलको डिजाईन ‘पायल’ फाउण्डेशनमा आधारित थियो । तर यो फाउण्डेशनबाट उक्त स्थानमा पक्कि पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउण्डेशन डिजाईन गरिएको थियो । डिजाईन परिवर्तनपछि काम तिब्र पारेर पुल निर्माण सफल भएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले विगतमा फाउण्डेशन परिवर्तनमा ढिलाई भएको, कोरोना लगायतका महामारीले सामाग्री ढुवानी र कामदार परिचालनमा समस्या भएकोले समयमै पुल निर्माण हुन नसकेको जनाएको थियो । भेरीनदिमाथि पुल नहुँदा विशेष गरेर वर्षायाममा सर्वसाधारणहरुलाई आउजाउ र दैनिक उपभोग्य सामाग्री ढुवाानीमा समस्या हुने गरेको थियो । अव भने स्थानीयलाई सहज हुने भएको छ ।

अब जिल्ला सदरमुकामबाट बाँफिकोट गाउँपालिका, आठबिसकोट नगरपालिका हुँदै डोल्पातर्फ जान तथा जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउन सहज हुने भन्दै स्थानीयवासी खुशी भएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्