पर्यटकीय गन्तव्य बेलढुङ्गा

२५ फागुन २०७५

बाग्लुङ ।                                                        

बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गा पर्यटकीय केन्द्र बन्दै गएको छ । पर्यटन प्रबर्द्धन गर्न जिल्ला स्थित सरकारी संघसंस्थासंग सहकार्य अघि बढाईएको छ ।

बेलढुङ्गा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दी, बेनी नगरपालिका–३ भकिम्लीसँग जोडिएको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) का रुपमा समेत परिचित बेलढुङ्गासहित आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न स्थानीयले चासो देखाएका छन् ।

धम्जा, ओखलेस्थित ‘बेलढुङ्गा सामुदायिक घरवास’ को आयोजनामा भएको भेलाले पर्यटकीय पूर्वाधार निर्माणमा दुवैतर्फबाट पहल अघि बढाउने निर्णय गरेको छ । 


गाउँमा पर्यटन विकास हुन सकेमा बसाइँसराइ रोकिनुका साथै सर्वसाधारणको जीवनस्तर उकास्न सकिने स्थानीयको विश्वास छ । बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुनले पर्यटनमा धम्जा र भकिम्लीबीचको दिगो सहकार्यमा जोड दिए ।

नगरपालिकाबाट चालू आवमा स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको विकासका लागि रु सात लाख बजेट छुट्याइएको छ । उक्त बजेट सडक र पदमार्गमा खर्च हुनेछ । सदरमुकाम बेनी बजारबाट १८ किमीको दूरीमा अवस्थित बेलढुङ्गा जोड्न करीब दुई किमी सडकको मार्ग खोल्न बाँकी छ । बागलुङतर्फबाट पनि चार किमी सडकमार्ग जोडिन बाँकी छ । 

बागलुङतर्फबाट भकिम्ली जोड्ने सडक काठखोला गाउँपालिकाको गौरवको योजना हो । दुवै जिल्लाको सीमास्थल देउरालीबाट बेलढुङ्गा चढ्ने बाटोमा भने पदमार्ग बनाउने योजना छ । पदमार्गका लागि दुवै वडाले बजेट विनियोजन गरेका छन् । 

पदमार्गसँगै बेलढुङ्गामा घेराबार लगाउने, ‘रेलिङ’ राख्ने, विश्रामस्थललगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ । समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा अवस्थित बेलढुङ्गा दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो । बेलढुङ्गाबाट हिमशृङ्खलासँगै बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र गुल्मीका मनोरम भूभागको अवलोकन गर्न सकिन्छ । प्राकृतिक र जैविक हिसाबले समेत महत्वपूर्ण बेलढुङ्गा क्षेत्रमा बहुमूल्य जडीबुटी पाइनुका साथै जङ्गली जनावरको वासस्थान छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्