दोस्रो ‘जनक–सुदन स्मृति कप’ को विजेता, उप-विजेता र तेस्रो स्थान बाँफिकोटकै हातमा

सोमबार, असोज ७, २०८१

रुकुम पश्चिम । असोज १ गतेदेखि रुकुम पश्चिमको मुसिकेट नगरपालिका -१ बराहाटाकुरामा सञ्चालित दोस्रो ‘जनक–सुदन स्मृति कप’ को उपाधि बाँफिकोट गाउँपालिका –३ ले हात पारेको छ । भलिबल खेलाडीद्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा गत वर्षबाट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले ‘जनक–सुदन स्मृति कप’ रनिङ शिल्ड सञ्चालन गर्दै आएको छ । 

सोमबार भएको फाईनल खेलमा बाँफिकोट गाउँपालिका –४ लाई  पराजित गर्दै बाँफिकोट –३ ले उपाधि जित्न सफल भएको हो । बाँफिकोट गाँउपालिका –३ ले ३–० को सोझो सेटमा बाँफिकोट गाउँपालिका –४ लाई पराजित गरेको आयोजक भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बिक्रम बिएमले जानकारी दिनुभयो ।

विजेता टिमले एक लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उपविजेता बाँफिकोट गाउँपालिका –४ ले ७१ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । तेस्रो हुने बाँफिकोट गाउँपालिका –२ ले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष बिएमले जानकारी दिनुभयो । 

आयोजकका अनुसार यस अवसरमा वडास्तरिय पुरुष र खुला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । महिला भलिबलतर्फ भने सानीभेरी गाउँपालिका –४ प्रथम, बाँफिकोट गाउँपालिका –४ दोस्रो र सल्यानको समुहले तेस्रो स्थान प्राप्त गरेका छन् ।

महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष बुढाको जानकारी दिनुभयो । महिलातर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छन् । 

महिला भलिबलमा ८ टिमले प्रतिस्पर्धा गरेका थिए भने पुरुषतर्फ रुकुमपश्चिम, रोल्पा र रुकुमपूर्वका २४ टिमले भाग लिएका थिए । पुरुषतर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले पाँच हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान तीन हजार पुरस्कार पाउने छन् ।

त्यसैगरी महिलातर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले नगद तीन हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान दुई हजार पुरस्कार पाउने छन् । शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष शिल्ड जितेको हुनुपर्ने छ । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्