मुसिकोट १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण

मंगलबार, असोज ८, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । 

कृषि विकास कार्यालय रुकुम पश्चिमले ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको हो । कार्यालयका निमित्त प्रमुख मिन बहादुर केसीका अनुसार गाउँमै गएर किसानहरुलाई ९७.५ क्विन्टल आलु वितरण गरिएको हो ।

चालु आर्थिक वर्ष ०८१/०८२ मा कृषि विकास कार्यालयले यस वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत किसानहरुलाई आलुको बिउ उपलब्ध गराईएको हो । 

आलु खेती गर्ने क्षेत्र बढाएर उत्पादन समेत बढाउन यहाँका किसानहरुलाई अनुदानमा बिउ वितरण गरिएको हो । किसानहरुको मागको आधारमा बिउ खरिद गरेर डेजिरे जातको आलुको बिउ वितरण गरिएको हो । आलु उत्पादनमा बृद्धि गरेर निर्यात गर्ने र किसानहरुको आर्थिक उपार्जनमा सहयोग पुग्ने लक्ष्य लिईएको निमित्त कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष धनबहादुर खड्काले अनुदानमा प्राप्त बिउ वडाका ७७ जना किसानले प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आलु उत्पादनको प्रचुर सम्भावना रहेको यस वडाका किसानहरुलाई व्यवसायिक रुपमा कृषि पेशामा लाग्न कृषि विकास कार्यालयले प्रेरित गरिरहेको बताउनुभयो । आलु लगाउने समयमा नै कार्यालयका गाउँका किसानलाई बिउ उपलब्ध गराएको वडा अध्यक्ष खड्काले जनाउनुभयो । 

यस स्थानमा सुन्तला, कागती, लसुनको राम्रो उत्पादन हुने गरेको छ । किसानले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणको लागि वडा कार्यालयले व्यवसायीहरुलाई समन्वय गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्