भूकम्प पीडितको अवस्था दयनिय : चिसोमा त्रिपालमूनि, गर्मीमा टिनमूनि

बिहीबार, असोज १०, २०८१

भूकम्पबाट बासस्थान गुमाएका रुकुम पश्चिमका पीडितहरुको दैनिकी बिजोक भन्दै गएको छ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको ११ महिना पुग्नै लाग्दा पनि सुरक्षित आवास पाउन नसकेकोले दैनिकी दयनिय बन्दै गएको भूकम्प पीडितहरुको दुःखेसो गरेका छन् । 

भूकम्पले घरबारबिहिन बनाएको सुरुको केहि महिना कठ्याङिग्रदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य उनीहरुले अझैपनि सुरक्षित आवास पाउन नसकेको गुनासो गरेका छन् । आठबिसकोट नगरपालिका –१४ ज्यामिरकोटकी कल्पना बिकले पुस माघको जाडोमा त्रिपालमूनि र गर्मीयाममा जस्तापाताको टहरामूनि कष्टकर दैनिकी बिताउनु परेको बताउनुभयो ।

सुत्केरी अवस्थाकी उहाँले उचित आवासको अभावमा वर्षदिन बिताएको जनाउनुभयो । चाहिएको बेला न्यानो र उपर्युक्त आवास नपाउँदा स्वास्थ्य अवस्था ज्याँदै कमजोर बनेको उहाँको भनाई छ । 

सानीभेरी गाउँपालिका –४ की माया घर्तीले भूकम्पबाट लोग्ने र एक छोरा गुमाउनुका साथै व्यापार समेत गर्दै आएको घर भताभुङ भएको बताउनुभयो । त्यसबखत उहाँ सुत्केरी अवस्थामा पनि हुनुहुन्थ्यो । घर्तीले भन्नुभयो, ‘त्यस्तो बेला त्रिपालमूनि बसेर बाँच्यो, अहिले यस्तो उखरमाउलो गर्मीमा टिनको टहरामा बस्नुपरेको छ ।’

सरकारले घर बनाईदिने झुटो आश्वास मात्र दिएको उहाँको बुझाई छ । अब फेरि हिउँदयाम सुरु हुने भएकोले बच्चा र आफ्नो स्वास्थ्य जोगाउन चिन्ता बढेको घर्तीले बताउनुभयो ।  

सानीभेरी गाउँपालिका –४ का वडा अध्यक्ष मनोज बुढाथोकीले सुरक्षित आवासको अभावमा बढी मात्रामा बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य अवस्थामा असर परेको बताउनुभयो । उतीबेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रवन्ध भएतापनि समयमै पूनर्निर्माणको काम हुन नसकेको उहाँले जनाउनुभयो ।

संघीय सरकारले पूनर्निर्माणको लागि कार्यविधि नै ल्याउन नसकेकोले भूकम्मपीडितको आवास निर्माणको काममा ढिलाई हुन गएको वडा अध्यक्ष बुढाथोकीले उल्लेख गर्नुभयो । हिउँदको चिसो, बर्षाको झरी अनि उखरमाउलो गर्मी सहन बाध्य यहाँका भूकम्पपीडितहरुले बिजोकपूर्ण अवस्थामा दैनिकी बिताईरहेको उहाँको भनाई छ ।  

जिल्ला प्रशासन कार्यालयले भने जिल्लाभर ३२ हजार ६११ वटा अस्थायी टहरा निर्माण भएको जनाएको छ । विनाशकारी भूकम्पबाट प्रभावित भएका ३२ हजार ९९६ घरधुरी लाभग्राहीको सूचिमा रहेका छन् । जसमध्य ३२ हजार २०२ जनाले सरकारले दिएको अनुदान रकमबाट अस्थायी टहरा बनाएका छन् भने ४०९ वटा टहरा विभिन्न संघसस्थाले निर्माण गरिदिएका छन् । ५२३ वटा भने निर्माणधिन अवस्थामा रहेका छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले अधिकांश टहराहरु जस्तापाताबाट नै निर्माण भएको जनाउनुभयो । गर्मीयाममा टिनको टहरामूनि भूकम्पपीडितहरु बस्नुपरेको उहाँले बताउनुभयो ।

सरकारले आवश्यक नियम तथा बजेट व्यवस्थापन गरेर पूनर्निर्माणको कार्य सुरु गर्ने बताएको तर कार्यान्वयनमा ढिलाई भईरहेका निमित्त प्रजिअ रेग्मीले उल्लेख गर्नुभयो । त्यसका लागि जिल्लास्तरबाट हुने निर्णय, परिपत्र, आग्रह लगायतका सम्पूर्ण कार्यहरु नियमित गरिरहेको उहाँको भनाई छ ।  

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्