chrj chrj
chrj chrj

स्यार्पूतालको प्राकृतिक सुन्दरता जोगाएर पर्यटनको विकास गरौ : पूर्वमन्त्री केसी

शुक्रबार, असोज ११, २०८१

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् प्रदेश सभा सदस्य महेन्द्र केसीले स्यार्पूतालको प्राकृतिक सुन्दरता बचाउन अनुरोध गर्नुभएको छ । 

ward1

बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको देशकै एक आकर्षक पर्यटकियस्थल स्यार्पूतालको सुन्दरता मासेर विभिन्न संरचनाहरु बनाउने नाममा स्यार्पूको प्राण मास्ने काम भईरहेको उहाँको भनाई छ । 

शुक्रबार १४ औं स्यार्पू बृहत खेलकुद, कषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री केसीले पर्यटकको आकर्षण रहेको स्यार्पूतालमा आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याएर आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । 

उहाँले प्राकृतिक सौन्दर्यता नमासेर पर्यटनको विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्लाका विभिन्न स्थानमा रहेका प्राकृतिक श्रोत र साधनहरुको संरक्षण, प्रवद्र्धन र प्रचार मार्फत पर्यटनको विकास गर्न सकिने भएकोले सबैको सकारात्मक साथ र सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटन, कला र सस्कृतिको धनि जिल्ला रुकुम भएकोले यसको सदुपयोग गरेर समृद्धि हाँसिल गर्न सकिने केसीले बताउनुभयो । 

उहाँले पर्यटन मार्फत यहाँको मुहार फेर्न सकिने सम्भावना रहेको र त्यसका लागि आफू मन्त्री हुँदा आवश्यक बजेटको व्यवस्थापन समेत गरेको जानकारी गराउनुभयो । 

कार्यक्रमका बिशेष अतिथि मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव लगायतका गतिविधिहरु सञ्चालन हुनु सकारात्मक रहेको बताउनुभयो । उहाँले पालिकाहरु बिचमा सहकार्य र समन्वय गरेर पर्यटकिय स्थानहरुको संरक्षण र प्रचार गर्न आवश्यक रहेको जनाउनुभयो । 

महोत्सवको उद्घाटन सत्रमा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्क सिं खत्री, नेकपा (एमाले) का जिल्ला सचिव शशिराम परियार, नेकपा (माओवादी केन्द्र) का नेता चन्द्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विनोद शाह, बाँफिकोट गाउँपालिकाका पूर्व अध्यक्ष धर्मबहादुर केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तारा बुढा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार बिकले गर्नुभएको थियो । 

कार्यक्रमको क्रममा विभिन्न विद्यालयहरुले साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए । बाँफिकोट गाउँपालिकाको आयोजना सुरु भएकोले महोत्सव असोज २३ गतेसम्म चल्ने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्