राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड एकतर्फी सञ्चालन

शनिबार, असोज १२, २०८१

सल्यान । राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सल्यान कपुरकोट र दाङको सीमामा पर्ने राम्री नजिकै सडक भासिएपछि अवरुद्ध भएको थियो । 

जेसिभीको सहायतामा भित्ता काटेर काम चलाऊ सडक निर्माण गरेपछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको बताईएको छ । 

‘‘सडक सञ्चालनमा आएसँगै गाडीहरू अहिले चल्न थालेका छन् । भासिएको स्थानको माथिल्लो भागबाट सडक काटेर अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार वर्षाका कारण सडक भासिदा शुक्रबार राति १२ बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।

भासिएको स्थान नजिकै तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले सतर्कता अपनाउँदै गाडी चलाउन स्थानीय सरकारले गाडी व्यवसायीलाई आग्रह गरेका छन् ।

कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले तत्काल भासिएको सडक छेउबाट पर्खाल उठाउन सक्ने सम्भावना कम देखिएकै कारण यात्रुहरूको सुविधाका लागि भित्ताबाट सडक काटेर यातायात सुचारु गरिएको बताउनुभयो । उहाँका अनुसार दुई तर्फी रूपमा गाडी सुचारु गर्नका लागि काम भइरहेको छ ।

यसैगरी, राप्ती राजमार्गको कपुरकोट–राम्री सडक खण्डमा ३ दिनका लागि ठुला सवारी साधन सञ्चालन रोक लगाइएको छ । वर्षाका कारण राप्ती राजमार्गको कपुरकोटदेखि राम्रीसम्मको सडक पहिरोले क्षतिग्रस्तभएपछि सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि उक्त सडक खण्डमा तीन दिनका लागि ठुला सवारी साधन सञ्चालनमा रोक लगाएको छ । बिहीबार सूचना प्रकाशन गरेर कार्यालयले ठुला सवारी साधन (टिपर, ट्रक) सञ्चालनमा रोक लगाएको हो ।

कपुरकोटदेखि राम्रीकोबिचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले रोक लगाइएको सडक डिभिजन कार्यालय दाङ सूचना अधिकारी इन्जिनियर उज्वलकुमार झाले बताउनुभयो । उहाँका अनुसार भारवहन गाडीलाई रोक लगाएपनि अन्य गाडीहरू भने सुचारु रहेका र यात्रुहरू आउजाउ गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्