कार्यविधि अभावमा भूकम्पपछिको पूनर्निर्माणमा अन्यौलता

आइतबार, असोज १३, २०८१

रुकुम पश्चिमका जनप्रतिनिधिहरुले भूकम्पपछिको पूनर्निर्माणका बिषयमा पालिकाहरु नै अन्यौलतामा रहेको जनाएका छन् । जाजरकोट भूकम्पपछि घरबासबिहिन भएकाहरु हिउँदको चिसो र वर्षाको पीडाले दयनिय बनेको उल्लेख गर्दै उनीहरुले फेरि कठ्याङग्रीदो जाडोको सामना गर्नुपर्ने अवस्थामा आईपुगेको दुःखेसो गरेका छन् । 

हालै मुसीकोटमा भएको पुनर्लाभको अवस्था तथा पुननिर्माणको तयारीको लागि स्थानीय तहको क्षमता विकास कार्यक्रममा संघीय सरकारले पुनर्निर्माणको कार्यविधि दिन नसक्दा अन्यौलमै रहेको जनप्रतिनिधिहरुको जनाएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले संघीय सरकारले प्रभावित जिल्लाको आवाजको सुनुवाई नै नगरेको बताउनुभयो । सरकारले पुुनर्निर्माण कार्यविधि नै नबनाईदिदा स्थानीयस्तरमा काम गर्ने बाटो रोकिएको उहाँको भनाई छ । सरकारले नै आवास बनाउँछौ भन्ने आश्वास दिएकोले भूकम्पपीडितहरु त्यसकै पर्खाईमा रहेको गौतमले बताउनुभयो । 

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले भूकम्पले क्षति भएका आवासहरुको लागि पुनर्निर्माण कार्यविधि सहज र तत्काल बनाउनुपर्नेमा झन्झटिलो हुँदै गएको बताउनुभयो । उहाँले घरको डिजाईन र मापदण्ड भईदिएको भए अहिलेसम्म करिब आधा काम भैसक्ने दाबी गर्नुभयो । आवास निर्माणको कार्यविधि नटुंगिएको कारण स्थानीय तह र सहयोगी निकायहरु समेत अन्यौलमा रहेको उहाँको भनाई छ ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले प्रस्ताव गरिएको कार्यविधिमा पाँच लाख अनुदानसँगै जनताको गोठ निर्माण र रोजगार सिर्जना गर्ने योजना आवश्यक रहेको बताउनुभयो । अध्यक्ष बिष्टले स्थानीयस्तरमा उपलब्ध काठ तथा ढुङगाको प्रयोग गरेर भूकम्पप्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । छिटो र स्पष्ट कार्यविधि भएमा पुनर्निर्माणको काम नमुना बनाउन तयार रहेको उहाँले बताउनुभयो । 

Gangadhar-tuladhar_Rukum_Raju-1727601026.jpgपूर्व शिक्षामन्त्री एवम् विपद् विज्ञ डा. गंगाधार तुलाधरले विपद् व्यवस्थापन मानवको महापूण्यको काम भएकोले जाजरकोट भूकम्पको बेला जनप्रतिनिधिहरुले महापूयण्य कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विपद् जोखिम व्यवस्थापनमा स्थानीय जनप्रनितिधिहरुको भूमिका सधै उल्लेखनिय र प्रशंसनिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्तो अवस्थालाई भोट बढ्ने र घट्ने खेलमा नलागेर जनताको नेता बन्ने अवसरका रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । 

उक्त कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत जोखिम न्यूनिकरण पूर्व तयारी तथा पुनर्लाभ शाखाका उपसचिव (प्राविधिक) ई.सुदिप बिक्रम भट्टले वातावरणिय अध्ययन बिनै गरिने विकास निर्माणका कामले विपद् निम्त्याउने भएकोले त्यतातर्फ ध्यान दिन आवश्यक रहेको औल्याउनु भयो ।

उहाँले डोजरे विकासले विपद्को जोखिमसँगै विपद्का घटनाहरु बढाएको बताउनुभयो । यस क्रममा उहाँले प्राधिकरणले भूकम्पपीडितहरुको लागि गरिरहेको कामको जानकारी दिनुका साथै कानूनी र संस्थागत व्यवस्था, अस्थायी आवास निर्माणको अनुदानको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्