मुसिकोटमा ९० वर्ष माथिमा जेष्ठ नागरिक सम्मानित

मंगलबार, असोज १५, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

३४ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगर स्तरिय जेष्ठ नागरिक मञ्च मुसिकोटले १३ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । 

राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकाय, मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी लगायतले जेष्ठ नागरिकहरुलाई नगद पाँच सय रुपियाँ, खादा र  टिका लगाएर सम्मान गर्नुका साथै थर्मस उपहार प्रदान गर्नुभएको मञ्चका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिनुभयो । 

जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुँदै राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायले जेष्ठ नागरिकहरु अनुभवका खानी र परिवर्तनका हिस्सेदार भएको बताउनुभयो ।

उहाँले जेष्ठ नागरिकहरुको विगतको योगदानको स्मरण गर्दै सदा सम्मान गनुपर्ने बताउनुभयो । जेष्ठ नागरिकहरुको अधिकारलाई सबैले साझा मुद्धा बनाईनुपर्ने उल्लेख गर्नुहुँदै रोकायले आवश्यक कानून निर्माणको लागि पहल गर्न प्रतिबद्ध भएको जनाउनुभयो । 

461594319_3466905426943338_2189076546918822873_n-1727797340.jpgकार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जेष्ठ नागरिकहरुको सामाजिक योगदान अतुलनिय रहेको बताउनुभयो । उहाँले अनुभवि अर्थात जेष्ठ नागरिकको सम्मान गर्दै उहाँहरुको अनुभवबाट आगामी योजना बगाउन सक्नुपर्ने जनाउनुभयो । जेष्ठ नागरिकहरुकै बाटो र योगदानले विभिन्न खालका परिवर्तनहरु भएको सदा स्मरण गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ । 

कार्यक्रममा जेष्ठ नागरिक मञ्च मुसिकोटका अध्यक्ष लक्ष्मण शर्माले रगत र पसिना हुँदाको बेला समाजको लागि महत्वपूर्ण योगदान दिएका जेष्ठ नागरिकहरु कहिकतै अपमानित हुुनुपरेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुले आफनो सम्मान र अभिभावकिय भूमिकाको अपेक्षा गरिराखेको उल्लेख गनर्सभयो । विगतका अनुभव र सिकाई वर्तमानमा साटासाट गरेर थप योगदान दिने वातावरण निर्माण हुनुपर्ने माग राख्नुभयो । 

मञ्चका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायको प्रमुख आतिथ्यता रहेको थियो भने नगर प्रमुख महेन्द्र केसीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर उप प्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी, सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आचार्य, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष दिनेश खड्का, वडा नम्वर ५ का वडा अध्यक्ष समिर जंग मल्ल, वडा नम्वर ७ का वडा अध्यक्ष एक्क बहादुर पाण्डे लगायतको आतिथ्यता रहेको थियो । 

मञ्चका सचिव उपेन्द्र पाण्डेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन नगरपालिकाका कानून अधिकृत ललित बुढाले गर्नुभएको थियो । 
मुसिकोट नगरपालिका र सामाजिक विकास कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्