एम्बुलेन्स चालक संघद्वारा वडा वडामा स्टेचरको व्यवस्था 

शुक्रबार, असोज १८, २०८१

संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमले जिल्लाका ७३ वटै वडाहरुको लागि बिरामी बोक्ने स्टेचरको व्यवस्था गरेको छ । संघले ती स्टेचरहरु पहिलो चरणमा मुसिकोट नगरपालिका भित्रका १४ वटा वडा र जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरिएको छ । 

संघका अध्यक्ष कृष्ण कुमार ददेलले शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख महेन्द्र केसीलाई नगरका १४ वटै वडाहरुको लागि १४ वटा र जिल्ला ट्राफिक कार्यालयमा रहने गरेर एक वटा गरेर जम्मा १५ वटा स्टेचर हस्तान्तरण गर्नुभएको हो ।

स्टेचर हस्तान्तरण कार्यक्रममा अध्यक्ष ददेलले गाउँबाट बिरामीहरु बोकेर सडकसम्म ल्याउन स्टेचरको अभाव भईरहेकोले संघको तर्फबाट गाउँमै रहने गरेर स्टेचर व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले गाउँ तथा टोलहरुबाट बिरामी बोकेर ल्याउन कठिनाई भईरहेको नजिकैबाट देखेको हुनाले संघको निर्णय अनुसार जिल्लाका ७३ वटै वडामा स्टेचर वितरण गर्ने कार्यक्रम राखिएको जानकारी दिनुभयो । त्यस क्रममा मुसिकोट नगरपालिकाबाट स्टेचर वितरण कार्यको सुरुवात गरिएको हो ।

उहाँले गाउँमा विभिन्न निकायले प्रदान गरेका स्टेचरहरु व्यक्तिगत रुपमा राखेर आवश्यक परेको बेला नभेटिने समस्या देखिएकोले संघले उपलब्ध गराएका स्टेचर वडा कार्यालय, महिला स्वास्थ्य स्वयम् सेविका तथा सार्वजनिक निकायमा राखेर आवश्यकता परेको बेला तत्काल उपलब्ध गराउन अनुरोध गर्नुभयो । 

स्टेचर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीले एम्वुलेन्स संघले अत्यन्तै परोपकारी काम गरेको बताउनुभयो । उहाँले बिरामी र दुःखीहरुको लागि पूण्यको काम भएको बताउनुहुँदै सबै वडाका स्टेचर पठाउने जनाउनुभयो ।

भू–बनोटको कारण सबै गाउँ तथा टोलमा एम्बुलेन्स तथा यातायातका साधनहरु जान नसक्ने अवस्था कायमै रहेकोले यस्तो बेला बिरामीको ज्यान बचाउन स्टेचर प्रभावकारी रहने उहाँले उल्लेख गर्नुभयो । संयुक्त एम्बुलेन्स चालक संघसँग आगामी दिनहरुमा सहकार्य गरेर यस खालका परोपकारी काम गर्न नगरपालिका तयार रहेको नगर प्रमुख केसीको भनाई रहेको छ । 

स्टेचर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख केसी, उप प्रमुख बिमलकुमार पुन, प्रमुख प्रशासकिय अधिकृत मोहन प्रकाश गिरी, नगर प्रवक्ता एवम् वडा नम्वर ५ का वडा अध्यक्ष समिरजंग मल्ल, वडा नम्वर ७ का वडा अध्यक्ष एक्कबहादुर पाण्डे, वडा नम्वर १३ का वडा अध्यक्ष खलबहादुर खड्का, संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष कृष्ण कुमार ददेल, सचिव बिजय बस्याल, सदस्यहरु ठानबहादुर ददेल र हरि नेपाली लगायतको उपस्थिति रहेको थियो । 

b0c67b86-74f8-4c93-991a-6d3b581e7929-1728030451.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्