chrj chrj
chrj chrj

दसैं तिहारको दक्षिणा : पोथीमा लगानी, बचत गर्ने बानी

शनिबार, असोज १९, २०८१

रुकुम पश्चिम । दसैं, तिहारमा मान्यजन र दाजुभाईबाट टिका थापेर आशिर्वादसँगै दक्षिणा स्वरुप रुपियाँ दिने चलन रहेको छ । यो रकमबाट कसैले खेलौना किन्ने, नयाँ कपडा किन्ने, मिठाई किन्ने, घुम्न जाने त कसैले जुवातास खेल्ने समेत गरेको पाईन्छ । 

ward1

तर रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरुले भने यसपाली दक्षिणाको रकम यसरी फजुल गर्न पाउने छैनन् । आठबिसकोट नगरपालिका –१४ मा रहेको जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटका बिद्यार्थीहरुले मान्यजनले दिएको दक्षिणाले पोथी (कुखुरा) किनेर पाल्नुपर्ने नियम बनाएको छ । बिगतका दिनहरुमा दक्षिणाको रकम सित्तैमा आएको भन्दै अनावश्यक खर्च गर्ने गरेको भन्दै रकमको उचित लगानीको लागि विद्यालयले यस्तो नियम बनाएको हो । 

विद्यालयका प्रधानाध्यापक दिपक संगम थापाका अनुसार दक्षिणाको रकमले कापी, कलम र अन्य सामाग्री किन्न सकिने भएपनि त्यो जिम्मेवारी आमाबुवाको भएकोले बिद्यार्थीलाई रचनात्मक काममा जोड्न यो नियम बनाईएको हो । दक्षिणा स्वरुप पाएको रकमले कम्तीमा एउटा कुखुराको पोथी किन्ने र त्यसलाई हुर्काउनु पर्ने नियम विद्यालयले बनाएको छ ।

आगामी चैत्रमा हुने वार्षिक परिक्षाको समयसम्म उक्त पोथीले चल्ला कोरल्ने समय हुनेछ । दक्षिणाको रकमले किनेको पोथीले कोरलेको चल्ला देखाएमा बिद्यार्थीलाई पुरस्कृत गरिने थापाले जानकारी दिनुभयो ।

यस कार्यले बिद्यार्थीहरुमा श्रमको महत्व बुझाउनका साथै पैसाको बचत बारे जानकारी हुने विद्यालको भनाई छ । प्रधानाध्यपक थापाले सानैदेखी पैसाको बचत गर्न, पैसाको महत्व बुझ्न, जतन गर्न, सहि लगानीको तरिका सिक्न र आत्मनिर्भरताको बाटो पहिचान गर्न सजिलो हुने बताउनुभयो । सुन्दा सामान्य लागेपनि त्यसले ठुलो अर्थ रहेको विद्यालयका शिक्षक कर्ण मल्लले बताउनुभयो ।

मल्ललाई यस नियमको कार्यान्वयबारे अनुगमनको जिम्मेवारी समेत तोकिएको छ । कसैले झुठो विवरण दिन सक्ने कुरालाई मध्यनजर गर्दै दक्षिणाको रकमले पोथी किने नकिनेको, पोथीले चल्ला कोरलेकोकी नकोरलेको लगायतका कुरा जाँच गर्न र अनुगमन गर्न आफूले जिम्मेवारी पाएको शिक्षक मल्लले जानकारी दिनुभयो । 

विद्यालयले यस्तो नियम बनाएपछि बिद्यार्थीहरु पनि दङ्ग भएका छन् । कक्षा ९ मा अध्ययनरत छात्रा सिन्धु मल्लले विद्यालयको यस्तो नियमले आफूहरुमा मनोबल बढेको बताईन् । आफूले कुखुरा पाल्ने हौसला बढेको मल्लको भनाई छ ।

कक्षा ५ मा अध्ययनरत छात्रा प्रिज्म मल्लले पनि दसैं तिहारमा पाएको पैसा अन्त खर्च नगरेर पोथी किन्न रहर लागेको बताईन् । बजारको मिठाई किनेर, खेलौना किनेर पैसा खर्च गर्नुभन्दा पोथी किनेपछि धेरै पैसा कमाउन सकिने मल्लले जनाईन् । 

यसबाट बिद्यार्थीहरुले कर्म गरेर आत्मनिर्भर हुनसक्ने र भविष्यमा जागिर नभए पनि लघुउद्यम तथा व्यावसायिक क्षेत्रमा सफलता हाँसिल गर्न सहज हुने विद्यालयको अपेक्षा रहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्